समाज


नयाँ लुम्बो हिमशिखरको पहिचान

नयाँ लुम्बो हिमशिखरको पहिचान

नेपालखबर
असार १५, २०८३ सोमबार १८:५८, गोरखा

गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ। 

नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो। 

जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास गणेश हिमालकै श्रृङ्खलामा पर्ने छ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए।

हिमालय समिट क्लबद्वारा आयोजित उक्त टोलीका चार पर्वतारोहीले धेरै दिनको अन्वेषण र प्राविधिक आरोहणपछि हिमालको दक्षिण–पश्चिम मोहडाबाट बाटो बनाउँदै असार ८ गते शिखरमा पुग्न सफल भएका हुन्।

आरोहण टोलीमा अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक गोरखा लाप्राकका तुलसिंह गुरुङ, सुजल गुरुङ र आशबहादुर गुरुङ तथा अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु रहेका थिए। 

मनास्लु संरक्षण क्षेत्रको उत्तरी छेउ र गणेश हिमाल शृङ्खलाको दक्षिणमा पर्ने धार्चे गाउँपालिकामा अवस्थित लुम्बो हिमालको त्यो पहिलो प्रमाणित आरोहण हो।

लुम्बो हिमाल कुनै बस्ती, चिया पसल वा स्थापित पदयात्रा मार्ग नभएको एक दुर्गम उपत्यकामा अवस्थित छ। टोलीले चार हजार १५० मिटरमा आधार शिविर र पाँच हजार ४९ मिटरमा उच्च शिविर स्थापना गर्नुअघि मनास्लु पदमार्गबाट चार दिनको पैदल बाटो हिँड्दै सो अभियानको यात्रा तय गरेको स्थानीय वीसबहादुर गुरुङले जानकारी दिए।

पथप्रदर्शक तुलसिंह गुरुङका अनुसार टोलीले हिउँ, चट्टान र बरफको अवस्थाको मूल्याङ्कन गरेपछि दक्षिण–पश्चिम मोहडाबाट आरोहण गर्ने निर्णय गरेको थियो।

करिब २० घण्टा लगाएर आरोहण गरेको आरोही मध्यका एक सुजल गुरुङले बताए। आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि छ हजार मिटर अग्लो हिमाल आरोहणको अनुभव अनिवार्य व्यवस्था गरिएको छ। 

मनास्लु आरोहण गर्नुअघि धेरैजनाले त्यो हिमाल आरोहण गर्न सक्ने सम्भावना धेरै रहेको आरोही बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad