आज (आइतबार) पनि देशैभर वर्षा हुने र विभिन्न स्थानमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा ठूलो पानी (भारी वर्षा) पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।
यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।
बुलेटिनअनुसार अझै तीन दिन वर्षा रोकिने छैन। मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ।
वर्षाका कारण बाढीपहिरो, डुबान हुने तथा यात्रामा अवरोध आउन सक्ने भन्दै केही दिनदेखि महाशाखाले २४ घण्टे चेतावनी जारी गरिरहेको छ।
प्रतिक्रिया