पोखरास्थित गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीहरुको संगठन ‘पूर्व गण्डकी बोर्डिङ स्टूडेन्टस् एसोसिएसन’ (एग्बोसा) काठमाडौँले वीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
उक्त संगठनले बिहीबार एक कार्यक्रमबीच वीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको हो।
एग्बोसा, काठमाडौँकी अध्यक्ष डा. सुजिता हिराचनले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।
त्यसक्रममा एन–९५ माक्स, सेनिटाइजर, सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री दुवै स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो।
महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्ने उद्देश्यका साथ आफ्ना सदस्यहरुमार्फत सहयोग जुटाएर ती सामग्री हस्तान्तरण गरिएको डा. हिराचनले बताइन्। आगामी दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, तथा उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिइन्।
उक्त अवसरमा पूर्वगण्डकी बोर्डिङ स्टूडेन्टस् एसोसियसनका सदस्य तथा वीर अस्पतालमै कार्यरत डा. अनिल बराल, डा. दीपक मल्ल, डा. अपार रायमाझी र एग्बोसा, काठमाडौँका सदस्य पूर्ण पन्तलगायतको उपस्थिति थियो।
Shares

प्रतिक्रिया