समाज


नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालखबर
असार २, २०७७ मंगलबार ६:१९,

एनपीआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर नतिजा नेगेटिभ आएको छ।

गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो। अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार संक्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा मंगलबार नतिजा नेगेटिभ आएको हो। उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ।

यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो। श्रेष्ठले यस अवधिमा करीब एक सय जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परिक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिए। पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो। ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पीसीआर परीक्षण नेगेटिभ आएको हो।

अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ। संक्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ। आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उनले जानकारी दिए।

चिकित्सक र बिरामीलाई संक्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो। संक्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताए। अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै आजबाट बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताए।

यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उनले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताए।

क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad