समाज


घरभाडा छुट गर्ने घरधनी सम्मानित

घरभाडा छुट गर्ने घरधनी सम्मानित

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ९:४५,

महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी सम्मानित भएका छन्। कोभिड–१९ संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका घरधनीलाई बर्दिवास उद्योग वाणिज्य संघले शनिबार सम्मान गरेको हो।

बर्दिवास–१ का हर्कबहादुर तामाङ, वडा नं ३ का माधव लामिछाने र रामकुमार कार्कीले गत चैतमै लकडाउन अवधिभरिको घरभाडा नलिने स्वेच्छिक घोषणा गरेका थिए।

वाणिज्य संघको भवनमै सम्पन्न सम्मान कार्यक्रममा सम्मानित तामाङले बन्दाबन्दीका बेला व्यापार व्यवसाय सबै ठप्प भएका हुँदा व्यापारीको मनोबल घट्न नदिन भाडा नलिने स्वेच्छिक घोषणा गरेको बताए। तामाङले सम्मान कार्यक्रममै गत चैतदेखि जेठ मसान्तसम्मको घरभाडा नलिन सबै घरधनीलाई अपिल पनि गरे।

‘व्यापार व्यवसाय बन्दाबन्दीले ठप्प भएका बेला साना व्यापारीले कसरी भाडा दिन सक्लान्?’, तामाङले भने, ‘व्यवसाय जिउँदो राख्न पनि सबै घरधनीले मन फराकिलो बनाउनैपर्छ।’

यस कार्यमा जिल्लाका सबै उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनले आवश्यक समन्वय गरिदिनपर्ने तामाङको सुझाव थियो। तामाङको बर्दिवास–१ औरहीरोडस्थित दुईतले भवनमा १७ सटरमा व्यापार व्यवसाय हुँदै आएको छ।

त्यसैगरी लामिछानेको बर्दिवास–१ गालटारचोक नजिकै सञ्चालित नमूना तरकारी बजारमा २० व्यापारिक सटर सञ्चालन हुँदै आएका थिए। बर्दिवास–३ गौरीडाँडामा कार्कीको पक्की भवनमा होटल सञ्चालन हुँदै आएको थियो। कार्की सिन्धुलीको घ्याङलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। सम्मानित घरधनीले बन्दाबन्दीपूर्वझैँ व्यवसाय सञ्चालन गर्न सबै व्यापारीलाई अपिल गरेका छन्।

सम्मान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले सम्मानित घरधनीको अनुशरण गर्दै सबै घरधनीलाई बन्दाबन्दी अवधिको घरभाडा छुट गर्न अपिल गरे। घरधनीका कर छुटलगायतका कुरामा संघले आवश्यक समन्वय गरिरहेको क्षेत्रीको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad