समाज


पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेका दुवै छोराले बाबुको किरिया गर्न पाएनन्

पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेका दुवै छोराले बाबुको किरिया गर्न पाएनन्

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:२२,

जिल्लामा स्वाब संकलन गरेको नौ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ।

बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाएका छैनन्।

नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब संकलन गरी सुर्खेत पठाइएकामा अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको यादवले जानकारी दिए।

‘घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौँ, रिपोर्ट नआएर जान मिल्दैन भन्छन् रिपोर्ट आउने पनि थाहा छैन’, उनले भने।

रिपोर्ट ढिला आउँदा क्वारेन्टिनमा अन्य समस्यासमेत थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिए।

‘नगरभित्रका क्वारेन्टिनमा रहेका ७११ जनाको स्वाब संकलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ’, पोखरेलले भने।

यसैबीच गत शनिबार कोरोना संक्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टिनको बरन्डमा बस्न बाध्य भएका छन्। सँगै संक्रमित भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेसनमा शनिबार भर्ना गरिएको भए पनि बाँकीलाई शय्या अभाव भएको भन्दै क्वारेन्टिनको बरन्डामा राखिएको हो।

संक्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएका कारण आफूहरुलाई समेत अप्ठेरो भएको एक संक्रमितको भनाइ छ।

‘यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर हामी आफैँ बरन्डामा सुत्ने र बस्ने गरेका छौँ’, उनले भने। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहल भइरहेको जानकारी दिए। आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad