आफूले भनेको केटीसँग बिवाह गर्न नपाएको विरोधमा सर्लाहीका एक युवकले टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर परिवारका सदस्यलाई अत्याएका छन्।
आज बिहान पौने ६ बजेतिर मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको परिवार सदस्य र सुरक्षाकर्मीको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनलाई भर्खरै टावरबाट तल झारिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जाकारी दिए।
‘आफूसँगै पढ्ने एउटी केटीसँग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेका रहेछन्,’ इन्सपेक्टर पाण्डेले भने, ‘अभिभावकले ती युवतीसँग विवाहको अनुमती नदिएपछि दबाब सिर्जना गर्न उनी टावरमा चढेका रहेछन्। परिवारका सदस्य र हामीले अहिलेलाई फकाइफुल्याइ गरेर उनलाई टावरबाट झारेका छौँ।’
हुसैन सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तह अध्ययनरत विद्यार्थी हुन्।
Shares

प्रतिक्रिया