समाज


अध्यादेशबाट हटाइएका जोशी नै सहिद दशरथचन्द विश्वविद्यालयको उपकुलपति नियुक्त

अध्यादेशबाट हटाइएका जोशी नै सहिद दशरथचन्द विश्वविद्यालयको उपकुलपति नियुक्त

नेपालखबर
असार ३१, २०८३ बुधबार १३:४४, काठमाडौँ

कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ।

बुधबार प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपति नियुक्त गरिएको हो। उनी गत पुस २२ गते विश्वविद्यालको उपकुलपति  नियुक्त भएका थिए। सरकारले वैशाखमा अध्यादेशमार्फत पदमुक्त गरेका जोशीलाई फेरि उपकुलपतिको जिम्मेवारी दिइएको हो। 

त्यस्तै, डा. भीमबहादुर चन्दलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार नियुक्त गरिएको छ। 

सिफारिस समितिका संयोजक प्रा.डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यता क्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए। त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिएका हुन्। 

मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। उनले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे। 

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ। बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता उपस्थिति थिए। 

को हुन् जोशी र चन्द? 

नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रुपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आएका छन्। 

यसअघि पनि उनी सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति रहेका थिए। सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्त खारेज गर्दा उनी पनि पदमुक्त भएका थिए। 

जोशीले अक्सपोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रुपमा पनि काम गरेका छन्। काठमाडौँ चाबहिलका स्थानीय बासिन्दा जोशीले एमडी, एमफिल, पीएचडी, पीजीडीडी, एफआरएसपीएच लगायतका शैक्षिक उपाधि हासिल गरेका छन्।

त्यस्तै, नवनियुक्त रजिस्ट्रार डा. भीमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील छन्। उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन्। 

उनी यसअघि सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य रहेका थिए। बैतडीको पाटन नगरपालिका–१ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रुपमा काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad