समाज


बनेको ४ वर्षपछि गेटाले पायो पहिलो उपकुलपति, अन्तिममा आवेदन दिएका जोशी नियुक्त

अर्को वर्षदेखि एमबीबीएस पढाउने तयारी
बनेको ४ वर्षपछि गेटाले पायो पहिलो उपकुलपति, अन्तिममा आवेदन दिएका जोशी नियुक्त

प्रज्ञा तिम्सिना
पुस २२, २०८२ मंगलबार २०:५२, काठमाडौँ

अन्ततः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो उपकुलपति र रजिस्ट्रार पाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार बसेको विश्वविद्यालयको दोस्रो सिनेट बैठकले उपकुलपतिमा प्राडा सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा खेमराज जोशीलाई नियुक्त गरेको हो। 

शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएर आएको नाम स्वीकृत गरेसँगै चार वर्षसम्म रिक्त पदपूर्ति भएको हो। उक्त विश्वविद्यालय भवन  २०७८ सालमा निर्माण सम्पन्न भएको थियो। 

उपकुलपतिमा नियुक्त जोशी काठमाडौँ मेडिकल कलेजमा २४ वर्षदेखि कार्यरत छन्। रजिस्ट्रार खेमराज जोशी भने पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका पूर्वडिन हुन्। 

गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन प्रमाणीकरण गरेका थिए। सो ऐन साउन २ गते देखि लागू भएसँगै उपकुलपति र रजिस्ट्रार नियुक्त भएका हुन्। 

ऐन अनुसार गत असोज अन्तिममा उपकुलपति, रजिस्ट्रार सिफारिस समिति गठन भएको थियो। गत कार्तिक १५ गते उपकुलपति छनोटले पहिलो सूचना निकालेको थियो। जसमा एक जनाको पनि आवेदन परेन। 

कात्तिक ३० मा दोस्रो पटक दरखास्त आह्वान गरिएको थियो। २ पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। 

समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको थियो। 

शिक्षामन्त्री महावीर पुनले छनोट समितिले दिएको नाम आफूले स्वीकृत गरेको जानकारी दिए। 

‘छनोट समितिले नाम ल्याएको थियो। उहाँहरूले सबै छानबिन गरेर नै सिफारिस गर्नुभएको होला। आज बसेको सिनेट बैठकले स्वीकृत गरेको छ,’ मन्त्री पुनले भने। 

सामुदायिक चिकित्सा विषयका प्राध्यापक उपकुलपति प्राडा जोशी काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सामुदायिक चिकित्सा विभाग प्रमुख छन्। प्राध्यापन तथा अनुसन्धानमा सक्रिय उनले रुसबाट एमबीबीएस गरेका हुन्।

काठमाडौँमा २०२६ सालमा जन्मिएका जोशीले ‘अकुपेसनल मेडिसिन’मा स्नाकोत्तर गरेका छन्। पब्लिक हेल्थमा ‘इन्जिुरी प्रिभेन्सन’ मा पीएचडी र ‘जेन्डर बेस्ड भायलेन्स’ मा फेलोसिप गरेका छन्। 

व्यवसायजन्य रोगबारे कानुन बनाउनमा पनि उनले सहयोग गरेका छन्। उनले श्रम ऐनमा नै व्यवसायजन्य रोगको बारेका राख्न लबिङ गरेका थिए। सडक सुरक्षामा पनि काम गरेका उनको मापसे परीक्षण लागू गराउनमा समेत भूमिका छ।

अन्तिममा आवेदन दिए, उपकुलपति पाए 
पहिलो पटक खुलाइएको आवेदनमा एक जनाको पनि आवेदन नपरे पछि विज्ञहरूले विश्वविद्यालय ऐन संशोधन गर्न भनेका थिए। 

उपकुलपति छनोट कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने र  सो व्यक्ति ३५ वर्षमाथि हुनु पर्ने र ६१ वर्षसम्मको हुनु पर्ने प्रावधान राखिएको छ। 

विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको व्यक्ति हुनुपर्ने  कडा प्रावधानमा कारण उम्मेदवारी नपरेको छनोट समितिकै पदाधिकारीले जनाएका थिए। उनीहरूले ऐन संशोधन गर्न अध्यादेश ल्याउन भनेका थिए। 

संसद् नभएकाले ऐन संशोधन गर्न नसकिने र अध्यादेश ल्याएर गर्दा पछि पास नहुने जोखिम भएकाले शिक्षामन्त्री पुन कार्यविधिअनुसारकै व्यक्ति खोजिरहेका थिए। यस्तोमा जोशी योग्य भएकाले नियुक्ति पाएका हुन्। 

उपकुलपति नियुक्त भएका डा जोशीले पनि आफू यो प्रावधान अनुसार उपयुक्त भएको भन्दै धेरै जनाले दरखास्त दिन आग्रह गरेको बताउँछन्। 

‘धेरै जनाले भर्न अनुरोध गरेपछि फाराम भरेको थिएँ,’ उनले नेपालखबरसँग भने,  ‘तपाईं नै यसका लागि उपयुक्त व्यक्ति हो भन्दै धेरै आग्रह आएकाले अन्तिम दिन आवेदन दिएँ।’ 

काममा व्यस्त भएकाले आफूले रुचि नदेखाएको र पछि धेरैले कर गरेपछि अन्तिम दिन गएर निवेदन दर्ता गरेको उनको भनाइ छ।

के छ योजना? 
नवनियुक्त उपकुलपति डा जोशीले आगामी वर्षदेखि गेटामा एमबीबीएस अध्ययन पढाउन सुरु गर्ने योजना बनाएका छन्। 

‘उपकुलपति हुन्छु भनेर सोचेको थिइनँ। मलाई जिम्मेवारी सुम्पिएको थाहा पाएँ। अब सुदूर गएर काम गर्ने योजना बनाएको छु,’ उनले सुनाए।

५० शय्या मात्र अस्पताल रहेको जानकारी पाएको भन्दै विश्वविद्यालयले सञ्चालन गर्ने अस्पताल ६ सय शय्याको हुनुपर्ने जोशी बताउँछन्। 

उनले भने, ‘शय्या थप गर्ने, शय्या थप नभए नजिकैका अस्पतालसँग सहकार्य गरेर भए पनि आगामी वर्षदेखि एमबीबीएस पढाइ सुरु गर्ने योजना बनाएको छु।’

काठमाडौँबाहिर पनि चिकित्सा शिक्षा पढाउनु पर्छ भनेर सरकारले ठूलो लगानी गरेर बनाएको संरचना प्रयोगमा ल्याउने गरी काम गर्नु योजना बनाएको उनले नेपालखबरलाई बताए।
  
‘स्थानीय तह, सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने योजना छ। रजिस्ट्रार पनि नियुक्त हुनु भएको छ। अब योजना बनाएर अस्पतालको क्षमता विस्तारमा लाग्ने छौँ,’ उनले भने, ‘नेपालका लागि नै चिकित्सक उत्पादन गर्ने र बिरामीलाई प्रथामिकता राखेर उपचार गर्ने प्रणाली सुरु गर्ने छौँ।’

चिकित्सकलाई टिकाउन निकै चुनौती रहेको भन्दै उनले चिकित्सक टिक्ने वातावरण बनाउन र उनीहरूको वृत्तिविकास पनि ठूलो समस्या भएको बताए।

‘काठमाडौँकै मेडिकल कलेजका प्राध्यापक रोक्न गाह्रो छ, अब सुदूरपश्चिमसम्म त लैजान र टिकाइराख्न चुनौतीपूर्ण हुन्छ नै। यो चुनौती सबैको सहयोगबिना सामना गर्न असम्भव छ। त्यसकारण हामीलाई सबैको सहयोग आवश्यक पर्छ,’ उनले भने।

‘शय्या नथपी मेडिकल कलेज सञ्चालन गर्न सकिँदैन’ 
२०७८ सालमा निर्माण सम्पन भएको गेटा अस्पताल २०८० कार्तिक १ गतेदेखि सञ्चालनमा आएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शय्याको अस्थायी अस्पताल सञ्चालन गरेको छ। अस्पतालले ३२ वटा भवनमध्ये ६ वटा भवन मात्र प्रयोग गरेको छ। 

मुटुरोग, हाडजोर्नी, प्रसूति, बालरोग, नाक कान घाँटी, दन्त विभाग लगायतका सेवा दिइरहेको छ। अस्पतालले सबै अस्थायी दरबन्दीका चिकित्सक राखेको छ। 
 
अस्पतालका निर्देशक डा प्रमोदकुमार यादवले सिटी स्क्यान, एमआरआई सेवा नभएको जनाए। 

अस्पतालमा दैनिक ३ सय बिरामी ओपीडीमा आउने गरेको उनले जनाए। 

विश्वविद्यालयको लागि ६ सय शय्या आवश्यक पर्ने भन्दै उनले चिकित्सा शिक्षा पढाउन तत्काल ३ सय शय्या चाहिने जनाए। 

‘अहिलेको शय्याले नर्सिङ पढाउन त सकिँदैन। तत्काल एमबीबीएसको सिट पाउन त सम्भव नै छैन,’ उनले भने, ‘भवन, पूर्वाधार छ, जनशक्ति र उपकरण चाहियो। एमबीबीएस सुरु गर्न तत्काल ३ सय शय्या आवश्यक पर्छ। त्यसका लागि जनशक्ति, प्राध्यापक पनि चाहिन्छ।’

उनले छिटोभन्दा छिटो ३ सय शय्याको अस्पताल बनाएर उपचारको पर्खाइमा बसेका ३० लाख जनसंख्यालाई उपचार दिने गरी निर्णय गर्नुपर्ने बताए।

अस्पताल स्तरोन्नति गर्छौं : स्वास्थ्य मन्त्रालय 
स्वास्थ्यसचिव डा विकास देवकोटा चिकित्सा शिक्षा अध्ययन सुरु गराउन अस्पताल सञ्चालनमा ल्याइएको जनाए। 

‘यस वर्षदेखि नै गेटामा एमबीबीएस पढाउने योजना बनाएर थियौँ। उपकुलपति र रजिस्ट्रार ढिलो नियुक्त हुनु भएकाले यो वर्ष सम्भव भएन,’ देवकोटाले थपे, ‘अर्को वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने तयारी गर्छौं। नियुक्त हुनु भएको उपकुलपति र रजिस्ट्रारले पनि योजना बनाउनुहोला।’

मन्त्रालयले अस्थायी दरबन्दीमा चिकित्सक र कर्मचारी राखेको भन्दै उनले अस्पतालमा धेरै मेडिकल उपकरण थप गरेको जनाए। 

तत्काल ३ सय शय्या आवश्यक पर्ने स्वास्थ्य सचिव देवकोटा बताउँछन्। 

‘३ सय शय्या तत्काल आवश्यक पर्छ, त्यसका लागि प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने, ‘यस वर्ष ५ करोड बजेट विनियोजन गरेर पठाएको छौँ, अब नियम अनुसार कसरी चल्ने भनेर निर्णय गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad