समाज


विद्यालयमा आइतबारे बिदा हटाउन माग

विद्यालयमा आइतबारे बिदा हटाउन माग

नेपालखबर
असार ३१, २०८३ बुधबार १९:२३, काठमाडौँ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गर्न माग गरेको छ। 

महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सातामा ६ दिन पढाइ हुने व्यवस्था यथावत राख्न सरकारसँग माग गरेको हो। महासंघका अध्यक्ष काशीनाथ दंगालले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बालबालिकाको औपचारिक पठनपाठन र सिकाइको अवधि घटेको छ।’

आइतबारको बिदाका कारण देशभरका अभिभावक चिन्तित बनेको उनले उल्लेख गरे। महासंघले बालबालिकाको सिकाइ अवसर सुनिश्चित गर्न साताको ६ दिन नै विद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। 

विद्यालय शिक्षालाई संविधानको मर्म अनुरूप व्यवस्थित बनाउन ‘विद्यालय शिक्षा ऐन’ तत्काल जारी गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ। नयाँ शिक्षा ऐनको पर्खाइमा रहेको समयमा सरकारले शिक्षा नियमावलीमा गरेको संशोधनले सामुदायिक विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकार संकुचित पारेको महासंघको ठहर छ। 

‘शिक्षा नियमावलीको पछिल्लो संशोधनले समुदायको अस्तित्व र भूमिकाको अवमूल्यन गरेको छ,’ अध्यक्ष दंगालले भने, ‘विद्यालय र समुदायलाई टाढा राख्ने तथा नागरिक अधिकारसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुन र अभ्यासको समेत उल्लंघन भएको छ। यस्तो संशोधन तत्काल सच्याउनुपर्छ।’

महासंघले विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। व्यवस्थापन समितिलाई विद्यालय स्तरको सरकारको भूमिकामा स्थापित गर्दै यसको कार्यकाल पाँच वर्षको हुनेगरी कानुनी प्रबन्ध मिलाउन समेत महासंघले सरकारसँग आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad