ad ad

समाज


कोरोना प्रभावित भारतको महाराष्ट्र र दिल्लीबाट नेपाली घर फर्कँदै

कोरोना प्रभावित भारतको महाराष्ट्र र दिल्लीबाट नेपाली घर फर्कँदै

नेपालखबर
जेठ १४, २०७७ बुधबार ८:४०,

भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन्। नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ। फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन्।

भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करिब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन्।

भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन्।

उनका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन्। यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ।

स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए। अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ। आज बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन्।

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ। नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउछन्।

नरैनापुरमा विद्युतीकरण सुरु
कोरोना भाइरसबाट अतिप्रभावित बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युतीकरण विस्तार शुरु गरिएको छ। कोरोना महामारी सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण दुई महीनादेखि रोकिएको विद्युतीकरण सोमबादेखि शुरु भएको हो । नेपालगञ्ज–फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युतलाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गरी चार वडामा अझै विद्युत् पुग्न सकेको छैन।

नरैनापुरमा कोरोना महामारीबाट संक्रमितलाई राख्न आइसोलेसन केन्द्र र क्वारेन्टिन व्यवस्थापनमा विद्युत् नहुँदा समस्या भएपछि विद्युत् विस्तार शुरु गर्न आग्रह गरिएको नेपालगञ्जस्थित विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय प्रमुख मुनिन्द्र्र ठाकुरले जानकारी दिए। उनका अनुसार विद्युतीकरण विस्तारको जिम्मा पाएको त्रिलोक रेणु कन्स्ट्रक्सन कम्पनीले नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा बिजुलीका खम्बा गाड्ने र तार टाँग्ने काम एकसाथ सुरु गरेको छ।

कोरोनाको बढ्दो संक्रमणबाट प्रताडित नरैनापुरवासीको सहज जीवनयापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्र्रको स्तरोन्नतिसहित तत्काल सेवा प्रवाह गर्न विद्युतीकरण अगाडि बढाइएको उक्त क्षेत्रका प्रदेशसभा सदस्य कृष्णा केसीले बताए। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विद्युतीकरण विस्तार शुरु भएपछि नरैनापुरमा बिजुली बल्ने आशा पलाएको बताए।

नरैनापुर– ५ मटेहिया जमुनाहादेखि नरैनापुरसम्म १०६ खम्बा गाडिसकिएको भए पनि तार टाँगिएको छैन। अब नरैनापुरदेखि लक्ष्मणपुरसम्म ८९ र कटकुइयासम्म ५० खम्बा गाड्ने र तार विस्तार गरिने प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख ठाकुरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .