समाज


दिलीप महतोको हत्या भएकै खोलामा फेरि अवैध उत्खनन्, गाउँलेले लिए ६ वटा गाडी नियन्त्रणमा

दिलीप महतोको हत्या भएकै खोलामा फेरि अवैध उत्खनन्, गाउँलेले लिए ६ वटा गाडी नियन्त्रणमा

शैलेन्द्र महतो
जेठ १४, २०७७ बुधबार ८:५५,

धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा फेरि अवैद्य उत्खनन सुरु भएको छ।

६ महिनाअघि अवैद्य उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाकै दिलीप महतोको हत्या भएको थियो। अहिले दिलीपको हत्या भएको आरही खोलामा अवैद्य दोहन सुरु भएको हो।

मिथिला नगरपालिकाले तीन फिटसम्म मात्र गिट्टी बालुवा खन्ने सर्तमा ठेक्का लगाए पनि क्रसरहरु स्थानीय प्रहरी प्रशासनको सहयोगयमा १० फिटसम्म गहिरो पारेर उत्खनन् गरिरहेका छन्।

औरही खोलाका अवैद्य दोहनविरुद्ध अभियानमा लागेको मिथिला नगरपालिका ५, श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको गएको पुस २५ गते राति स्थानीय चुरियामाई प्रशोधन क्रसर उद्योगका सञ्चालक वीपन महतो लगायतले टिपरले किचेर हत्या गरेका थिए।

उनको हत्याको केही महिना सो खोलामा अवैद्य उत्खनन् बन्द थियो। तर, पुनः कमिसनको खेलमा स्थानीय सरकार र प्रहरी प्रशासनकै आडमा क्रसर माफियाहरुले अवैद्य खोला उत्खननको धन्दा सुरु गरेको स्थानीयले आरोप लगाएका छन्।

उत्खनन्को कार्यको गाउँलेहरु पटक–पटक विरोध र अवरोध गर्दै आएका छन्। मंगलबार खोलामा अवैद्य उत्खनन गरिरहेको अवस्थामा हरिहरपुर र मर्धरका सयौँको संख्यामा गाउँले पुगेर विरोध गर्दै रोकेका थिए।

त्यस क्रममा क्रसर सञ्चालक र गाउँलेबीच तनाब उत्पन्न भएपछि ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी टोली पुगेर रोकेको थियो। आक्रोशित स्थानीयहरुले खोला उत्खनन् गरिरहेका नम्बर नभएको स्काभेटरसहित लोडर र ४ वटा टिपर नियन्त्रणमा लिएका हुन्।

ना८ ख ९०५२, ना७ ख ४२२९, स १ ख ९११ र प्रदेश २ ०३ ०१ ख ०१२७ नम्बरको रहेको टिपर र नम्बर नरहेको एउटा एस्काइभेटर र एउटा लोडर नियन्त्रणमा लिएका हुन्। गाउँलेहरुले नियन्त्रणमा लिएको गाडीहरुमा आगजनी, तथा तोडफोड गर्ने सम्भावना बढेपछि प्रहरीको आग्रहमा इलाका प्रहरी कार्यालयको जिम्मा दिइएको छ।

गाउँलेहरुले उत्खनन रोक्न पुगेपछि त्यहाँ तनाब हुँद आफुहरु गएर रोकेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए। उत्खनन र नियन्त्रणमा लिएको गाडीहरुको विषयमा बुधबार इलाका प्रहरी कार्यालयमा स्थानीय सरकार, गाउँले, ठेकेदार, क्रसर सञ्चालकबीच छलफल भइरहेको उनले जानकारी दिए।

अवैध औरही खोला दोहनको कारण श्रीपुर, हरिहरपुर र मर्धर गाउँ जोखिममा पर्दै गएको भन्दै गाउँलेहरु निरन्तर विरोध गर्दै आएका छन्। तर स्थानीय प्रहरी प्रशासनकै सहयोगमा खोला दोहन जारी रहेको उनीहरुको गाउँलेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .