समाज


सुदूरपश्चिमका नाकाबाट परीक्षण बिनै भित्रिए १५ हजार मानिस

सुदूरपश्चिमका नाकाबाट परीक्षण बिनै भित्रिए १५ हजार मानिस

गोकुल जोशी
जेठ १२, २०७७ सोमबार १२:११,

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। भारतमा लकडाउन खुकुलो भएपछि भारतका विभिन्न शहरबाट नेपालीहरु घर फर्किन थालेका हुन्।

केही दिन यता मात्रै सुदूरपश्चिमका नाकाहरुबाट करिब १५ हजार नागरिकलाई भित्राइएको छ। कञ्चनपुरको गड्डाचाैकी र दोधारा–चाँदनी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट नाकाबाट उनीहरुलाई प्रवेश दिइएको हो। यसरी भित्रिएका हजाराैंलाई कोरोना परीक्षणबिना नै नाका प्रवेश गराइए पछि कोरोनाको जोखिम बढेको छ।

कुन नाकाबाट कति भित्रिए?
सुदूरपश्चिममा सबैभन्दा बढी धनगढीस्थित गौरीफन्टा नाकाबाट नेपालीहरु भित्रिएका छन्। नौ दिनको अवधिमा कैलालीको गौरिफन्टा नाकाबाट १२ हजार ५२ जना मानिस स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार जेठ २ गते तीन सय ८३ जना, जेठ ३ गते चार सय ३ जना, जेठ ७ गते आठ सय ३४ जना, जेठ ८ गते २४ सय ९८ जना, जेठ ९ गते दुई हजार ११ जना, जेठ १० गते १९ सय ५९ जना र जेठ ११ गते ३९ सय ६४ जनालाई नाका प्रवेश गराइएको छ।

यस्तै, पछिल्लो एक सातामा कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रको दशगजामा अलपत्र एक हजार र बैतडीको झुलाघाट नाकाबाट तीन सय ७८ जनाको पनि उद्धार गरिएको छ। साेमबार कञ्चनपुरकाे गड्डाचाैकी नाकाबाट २३ सय भन्दा बढी नेपाली भित्रिएका छन्।

सुदूरपश्चिमका नाकाबाट उद्धार गरिने नागरिकहरु महाकालीदेखि पूर्व मेचीसम्मका छन्। धेरैजसो सुदूरपश्चिमका पहाडी जिल्लाका छन्।

लुकीछिपी आउने क्रम पनि रोकिएन
स्थानीय प्रशािसनले नै नागरिकहरुलाई भित्राएपनि सुरक्षा संयन्त्रको आँखा छलेर लुकीछिपी भारतबाट आउने क्रम पनि रोकिएको छैन। ट्युबबाट महाकाली नदी तरेर वा पौडिएर भारतबाट मानिस आइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए।

‘ट्युब र नदी तरेर आउने क्रम रोकिएको छैन्, त्यसरी आएकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको छ’ उनले भने।

यता कञ्चनपुर र कैलालीबाट पनि लुकिछिपी आउने क्रम रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैधानिक नाकाबाट लुकिछिपी आउनेलाई रोक्न सोमबारदेखि गड्डाचौकी नाका खोलेको छ। यसले लुकिछिपी भारतबाट आउने क्रम रोकिने विश्वास लिइएको छ।

अनुशासित भएर नेपाल छिर्नुस्, सबैको परीक्षण हुन्छ
भारतमा अलपत्र परेका मानिसको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारदेखि गड्डाचौकी नाका खुला गरेको छ। प्रशासनले सिमानामा अलपत्र सबैको उद्धार र स्वास्थ्य परीक्षण गरिने भन्दै नाका प्रवेश गर्न चाहने सबै नागरिकहरुले अनुशासित, मर्यादित भएर आउन आग्रह गरेको छ। यसरी आउने मानिसको विस्तृत विवरण संकलन गरिने भएकाले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्य रूपमा भर्न समेत अनुरोध गरिएको छ।

‘हामी सबै विवरण लिन्छौँ। उनीहरुको स्वास्थ्य परीक्षण पनि हुन्छ’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने।

गड्डाचौकी नाकाबाट घर फर्किनेको लर्को, ५ घण्टामा १५ सय बढीले पाए प्रवेश

आज २३ सय नेपालीलाई गड्डाचौकी नाकाबाट प्रशासनले भित्राएकाे छ। भाेलि पनि याे क्रम जारी रहनेछ।

सुदूरपश्चिमका र अन्य प्रदेशकालाई छुट्याइ दुई लाइन बनाएर प्रवेश गराइएकाे सीडीओ खतिवडाले जानकारी दिए। फाराम भर्न छुटाएको खण्डमा जिल्ला प्रवेश गर्दा कठिनाइ हुने भएकोले सो फाराम सबैले भर्नुपर्ने प्रजिअ खतिवडाले बताए। त्यसपछि उनीहरुको स्थान पहिचान गरेर सुरक्षाकर्मीले आवश्यकता अनुसार सवारी उपलब्ध गराएर पुर्‍याउने व्यवस्था समेत मिलाएको उनले जानकारी दिए।

किट अभावमा कोरोना जाँच भएन
एक सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट उद्धार गरी प्रवेश गराएकालाई ज्वरो नापेकै भरमा स्थानीय तहमा पठाइएको छ। जेठ पहिलो साता सबैभन्दा बढी मानिस (१२ हजार) भित्रिएको कैलालीको गौरीफन्टा नाकामा केहीको मात्रै आरडीटी परीक्षण गरिएको छ। त्यस अतिरिक्त अन्यलाई ज्वरो नापेकै भरमा सम्बन्धित स्थानीय तह पठाइएको छ। किट अभावमा नाका प्रवेश गरेका सबैको आरडीटी समेत परीक्षण हुन नसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए।

‘किट अभावमा नाका परीक्षण गर्न सकिएन, सम्बन्धित पालिकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्ने भनेर पठाएका छौँ, त्यहाँ उनीहरुमा कोरोना परीक्षण हुनेछ’ उनले भने।
संघीय सरकारसँग किट माग गरिएकाले छिट्टै किट आइपुग्ने उनले बताए।

डाक्टर भन्छन्ः ‘जोखिम बढ्यो, संक्रमण बढ्छ’
भारतमा महामारी उत्कर्षतर्फ लागिरहेका बेला भित्रिएका नागरिकहरुलाई सीमानामा नै परीक्षण गर्न सरकारले सकिरहेको छैन। सम्बन्धित पालिकाहरुमा समेत परीक्षण किट नहुँदा जोखिम झन् थपिएको छ। दुई महिनासम्म नागरिक नाकामै अलपत्र हुँदा समेत प्रदेशले आवश्यक कुनै पनि तयारी गरेको देखिएन। भारतबाट दशगजामा पुग्नेहरुको भीड बढ्दै गइरहेको छ तर परीक्षण भने नगण्य छ।

यस्तो अवस्थामा पूर्व–तयारी नहुँदा आगामी केही दिनमा सुदूरपश्चिममा संक्रमणको लहर चल्न सक्ने खतरा विज्ञहरुले औँल्याएका छन्। भारतबाट आएकालाई नाकामा परीक्षण विना अव्यवस्थित तरिकाले ल्याउन थालिए पछि संक्रमणको जोखिम बढेको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. जगदिश जोशीले बताए।

‘सुरुदेखि नै सुदूरपश्चिम जोखिममै थियो तर केही समय शुन्य थियो, नाकाबाट अव्यवस्थित तरिकाले ल्याउन थालिए पछि संक्रमण बढ्दै जाने देखिएको छ, क्वारेन्टिनमा बसेकाहरु पनि कस्तो अवस्थामा बसेका छन्, त्यसको लेखाजोखा गरिएको छैन, यसले संक्रमण बढ्न सक्ने अनुमान छ’ उनले भने।

नाकाबाट प्रवेश गराउँदा व्यवस्थित तरिकाले प्रवेश गराएर सबैको पीसीआर परिक्षण गरेर सम्बन्धित स्थानीय तह पठाउनु पर्नेमा त्यसो गर्न नसकिएकाले संक्रमण तीव्र रुपमा बढ्दै जाने आकलन गर्न थालिएको हो।

‘चरण–चरणमा व्यवस्थित तरिकाले ल्याएर सबै नागरिकको पीसीआर पद्धतीबाट कोरोना परीक्षण गरेर पठाउनु पर्थ्यो तर त्यो गर्न सकिएन। अब उच्च सतर्कता अपाएर क्वारेन्टिनमा रहेकाहरुको धमाधम पीसीआर परीक्षण गर्नु पर्छ’ उनले भने।

एक महिना यता संक्रमण शुन्य रहेको सुदूरपश्चिममा भारतबाट मानिसहरु अव्यवस्थित रुपमा उद्धार गरिन थाले पछि संक्रमण देखा पर्न थालेको छ। पछिल्लो चार दिनमा सुदूरपश्चिममा १० जनामा संक्रमण देखा पर्‍यो। जसमध्ये बैतडीका चार, अछामका एक जना तथा जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएका हुन्। ती संक्रमित २५ सय जना मानिसको भीडमा थिए । सो भीडमा उनीहरुसँगै गएका अरु मानिस सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बसेका छन्।

भारतबाट उद्धार गर्दा २५ सय जनाकाे भिडमा थिए बैतडी र अछामका संक्रमित

सुदूरपश्चिमका पहाडी जिल्लाका क्वारेन्टिन पनि व्यवस्थित नहुँदा क्वारेन्टिनबाट नै कोरोना संक्रमण फैलिने चिन्ता पनि थपिएको छ। भारतसँगको खुला सीमाका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको डाक्टरहरुको भनाई छ। हालसम्म सुदूरपश्चिममा जम्मा १५ जनामा संक्रमण देखिएको छ। तीमध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा चार जना, टिकापुर अस्पताल कैलालीमा तीन जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ। भारतमा लकडाउन खुकुलो भएपछि त्यहाँको विभिन्न स्थानबाट आउने क्रम रोकिएको छैन। अझै धेरै नागरिकहरु भारतीय सीमावर्ती शहरमा रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad