सरकारले नेपालमा ५ हजार केसलाई आधार मानेर स्वास्थ्य सामग्री जुटाउन थालेको छ।
स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार यसअघि १५ केसलाई आधार मानेर कोरोनासँगको सामग्रीको आवश्यकता पहिचान गरे पनि केसहरु बढेसँगै ५ हजार केसलाई चाहिने सामग्री जुटाएर कामहरु अघि बढाइएको हो।
सरकारले हालसम्म ९२ करोड रुपैयाँको स्वास्थ्य सामग्रीहरु सम्झौता र प्राप्त गरिसकेको तथा ६६ करोड रुपैयाँको सामग्री खरिद प्रक्रियामा रहेको उनले जनाए।
हालसम्म स्वास्थ्य मन्त्रालयसँग १ लाख भीटीएम भएकोमा ८८ हजार थान प्रयोग गरिसकेको तथा १२ हजार थान मौज्दात रहेको उनले जनाए।
सरकारले २ लाख ५ हजार थान भीटीएम खरिद प्रक्रिया अघि बढाएको छ। भीटीएम व्यक्तिबाट स्वाब निकालिसकेपछि प्रयोगशालासम्म पुर्याउन आवश्यक पर्ने भाँडो हो।
यस्तै हालसम्म पीसीआर किट १ लाख २८ हजार रहेकोमा ७८ हजार खर्च भइसकेको र ५० हजार मौज्दात रहेको डोटेलले बताए। थप १ लाख ७५ हजार किट खरिदको प्रक्रियामा रहेको उनले जनाए।
यस्तै सरकारसँग हालसम्म १ लाख ७५ हजार आइडीटी किट रहेकोमा ८० हजारको फिल्डबाट रिपोर्ट आउने क्रम जारी रहेको तथा १ लाख २१ हजार खरिद गर्ने कार्य अघि बढेको उनले जनाए।
हालसम्म १ लाख ४६ हजार सेट पीपीई रहेकोमा ५४ हजार सेट वितरण भइसकेको र ९२ हजार पीपीई सेट मौज्दात रहेको डोटेलले बताए।
त्यसबाहेक मन्त्रालयसँग १५ लाख मास्क, एन ९५ मास्क १ लाख ८० हजार, ग्लोब्स २ लाख ७८ हजार, जुत्ताको कभर ५३ हजार, सर्जिकल क्याप १७ हजार र थर्मोमिटर ६ सयवटा मौज्दात रहेको उनले बताए।
हालसम्म प्रदेशमा १७ लाख मास्क, पीपीई ५७ हजार, एन ९५ मास्क ५२ हजार र स्यानीटाइजर १० हजार बोटल पठाइएको डोटेलले बताए।

प्रतिक्रिया