चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षामा विदेशीलगायतका विद्यार्थी भर्ना संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी विदेशी विद्यार्थीको संख्या वृद्धि नीति अनुसन्धान प्रतिष्ठानमार्फत ल्याउन लागिएका अन्य गम्भीर प्रकृतिका सुझावलाई सरकारले नीतिको रूपमा लागू गर्ने तयारी गरेको भन्ने सूचनामा आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सरकारले यो निर्णय फिर्ता नलिए अनसन बस्ने उनले चेतावनी दिएका छन्।
उनले विगतका सरकारहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीले तय गरेका मापदण्ड तथा पूर्वाधारविना नै मेडिकल, डेन्टल र नर्सिङलगायतका निजी कलेजलाई उल्लेखनीय संख्यामा सिट वृद्धि गरेर गएको जनाएका छन्।
‘ओली सरकारको सो निर्णय सच्याउन हामीले गरेको अनुरोधलाई लत्याउँदै उल्टै सिट वृद्धि गर्ने कुरा बजेट भाषणमा समेत समावेश गर्ने र त्यसलाई सही देखाउन नीति अनुसन्धान प्रतिष्ठानबाट अनुसन्धानको नाममा झारा टार्ने काम गरी सम्बन्धित ऐन तथा नीतिमा ल्याउन लागिएका भनिएका अन्य गम्भीर प्रकृतिका सुझावहरू लागू गर्ने भन्ने सरकारका योजनाबाट चिकित्सा शिक्षाको गुणस्तरमा ह्रास आउने र सम्पूर्ण नेपालीहरूको स्वास्थ्यमा खेलबाड हुने स्थिति देखिएको छ,’ डा केसीले भनेका छन्।
वालेन्द्र शाह नेतृत्वको सरकारले पनि स्वार्थ समूहहरूको स्वार्थ पूरा हुने गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर र समतामूलक पहुँचमा दूरगामी प्रतिकूल प्रभाव पर्ने सुझावहरू नीति अनुसन्धान केन्द्रमार्फत नीतिको रूपमा ल्याउने तयारी गरिरहेको जानकारी पाएको उनले उल्लेख गरेका छन्।
‘यसबाट नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा ऐन आउनु पूर्वको मनपरीतन्त्र र भद्रगोलको स्थितितिर धकेल्ने निश्चित छ। के रास्वपा र बालेन सरकारलाई जनताले यसैका लागि चुनेर पठाएका हुन् त भन्ने प्रश्न टड्कारो रूपमा आउँछ,’ डा. केसीले भनेका छन्।
Shares

प्रतिक्रिया