महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुराकी रिंकु कुमारी मृत भेटिएपछि उत्पन्न विवाद साम्य भएको छ।
रिंकु मृत भेटिएपछि उनका माइती पक्षले हत्या भएको आरोप लगाउँदै विरोध जनाएका थिए। उनीहरूले रिंकुका पति शशी सिंहको घरमा तोडफोड तथा आगजनी गरेका थिए। जसले गर्दा शुक्रबार रातिदेखि यो क्षेत्र तनावग्रस्त बनेको थियो।
उनीहरूले घरमा रहेको कार, मोटरसाइकल र स्कुटीमा आगजनी गरेका थिए। सुरक्षाकर्मीले समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको थियो।
दुवै पक्षबीच भएको झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बर्दिवास तथा सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरबाट ठूलो संख्यामा सुरक्षाकर्मी शनिबार दिनभरि परिचालन गरिएको थियो।
स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, पीडित परिवारबीच भएको छलफलपछि रिंकुका पति शशीलाई अविलम्ब पक्राउ गरी घटनाको निष्पक्ष छानबिन गर्ने तथा दोषी प्रमाणित भए कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ। महोत्तरी–१ का सांसद प्रमोदकुमार महतो, बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीलगायत जनप्रतिनिधि घटनास्थल पुगेर आक्रोशित समूहलाई सम्झाइबुझाइ गरेका थिए।
जनप्रतिनिधिले निष्पक्ष अनुसन्धानको प्रतिबद्धता जनाउँदै शशीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउने सहमति गराएपछि स्थिति साम्य भएको हो।
सहमतिपछि माइती पक्षले रिंकुको शव उठाएको छ। उनको शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको छ।
प्रहरीका अनुसार बर्दिवास–१२ विजलपुरास्थित आफ्नै घरमा रिंकुको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

प्रतिक्रिया