समाज


भारत पस्यो मनसुन, कहिले आइपुग्ला नेपाल?

भारत पस्यो मनसुन, कहिले आइपुग्ला नेपाल?

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १३:५३, काठमाडौँ

भारतमा आज (जुन ४ तारिख) मनसुन प्रवेश गरेको त्यहाँको मौसम विभागले घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय मौसम विभाग (आईएमडी) ले यसपटक मनसुन सामान्य समयभन्दा तीन दिन ढिला केरलामा आइपुगेको जनाएको हो। भारतमा मनसुन भित्रिने औसत मिति जुन १ तारिख थियो। 

यसैबिच भारतमा मनसुन प्रवेश गरेसँगै अब नेपालमा कहिले भित्रिएला भनेर यहाँका मौसमविद्ले अध्ययन थालेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो।

‘हामी अहिले वाच (अध्ययन) गरिरहेका छौँ’, नेपालखबरको जिज्ञासामा बिहीबार दिउँसो उनले भनिन्, ‘सामान्यतया भारतमा मनसुन भित्रिएको १२/१३ दिनमा नेपाल आइपुग्छ। तर ठ्याक्कै यति नै भन्ने हुँदैन।’

उनले थपिन्, ‘कहिलेकाहीँ भारतमा मनसुन भित्रिसके पनि अड्किएर बस्न सक्छ, हामी अहिले अध्ययनमै छौँ। मनसुन भित्रिनु चार-पाँच दिनअघि नै बुलेटिन जारी गरेर जानकारी गराउनेछौँ।’ 

गत वर्ष (२०८२) भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो। 

नेपालबाट मनसुन बाहिरिने सरदर मितिचाहिँ अक्टोबर २ तारिख हो। तर यसमा पनि दुई/चार दिन तलमाथि हुने गर्छ। 

गत वर्ष भने नेपालबाट मनसुन औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो।  

नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।

मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। 

अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। अहिले देशमा प्रि-मनसुन छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ। 

मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।

यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग

यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते नै जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो। 

विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’

मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो।

यस वर्ष मनसुनमा यस्तो छ वर्षाको सम्भावना 

मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

यो पनि : आज कतै कतै हिमपात-वर्षा, यी चार प्रदेशका तराईमा अत्यधिक गर्मीको सम्भावना

मनसुन भित्रिएपछि भारतमा भारी वर्षाको सम्भावना
मनसुन प्रवेश गरेसँगै आगामी सात दिनमा केरलासँगै तमिलनाडु र कर्नाटकका केही भागमा भारी वर्षा हुने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी दुईदेखि तीन दिनसम्ममा मनसुन सम्पूर्ण गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु र बंगालको खाडीका अन्य भाग साथै उत्तरपूर्वी राज्यहरूमा फैलिने अनुमान गरिएको छ।

मनसुन डेढ महिनामा भारतभरि फैलिन्छ। अनि सेप्टेम्बर १७ आसपास राजस्थान हुँदै भारतबाट बाहिरिन सुरु गर्छ र अक्टोबर १५ सम्ममा पूर्ण रूपमा बाहिरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad