समाज


कतै कतै हिमपात-वर्षा, यी चार प्रदेशका तराईमा अत्यधिक गर्मीको सम्भावना

कतै कतै हिमपात-वर्षा, यी चार प्रदेशका तराईमा अत्यधिक गर्मीको सम्भावना

म्याग्दीको मालिका गाउँपालिका-७, बिम तल्लो गाउँ। तस्बिरः रासस


नेपालखबर
जेठ २१, २०८३ बिहिबार ८:४७, काठमाडौँ

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया तथा तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। अनि देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका हिमाली-पहाडी भेगमा हिमपातको पनि सम्भावना छ। मधेस प्रदेशमा तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईमा भने तातो दिन हुने सम्भावना छ। 

यस्तै राति कोसी र मधेस प्रदेशसहित देशका हिमाली भेगको आकाशमा साधारणतया र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी र मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यी प्रदेशका हिमाली-पहाडी भेगमा हिमपातको पनि सम्भावना छ।

काठमाडौँमा पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र

आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

तर त्यो सम्भावना ३० प्रतिशत मात्र रहेको मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताए। 

‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली रहने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर सम्भावना ३० प्रतिशत मात्र छ।’   

मौसमविद् दाहालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad