समाज


आफ्नै घरमा आगो लगाएपछि...

आफ्नै घरमा आगो लगाएपछि...

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ८:१५,

बागलुङको बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन्। ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ।

बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो। गोठमा बाँधिएका पशु भने फुकाइएको थियो। घरगोठ जल्दा रु दुई लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए। घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए। त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

श्रीमान्ले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमान्ले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताइन्।

श्रीमान्ले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनले गुनासो गरिन्। घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए। आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ। परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए। आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ। रासस

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad