भलिबललाई राष्ट्रिय खेल घोषणा गर्दै २०७४ जेठ ८ मा सरकारले भनेको थियो, ‘नेपालको पहिचान दिनसक्ने, एकता, भातृत्व र प्रेम बढाउने हुनाले भलिबललाई राष्ट्रिय खेलको रुपमा छानिएको हो।’
सरकारको निर्णयबाट भलिबल ‘राष्ट्रिय खेल’ बनेको आज ३ वर्ष पूरा भएको छ। सुन्दा अचम्म लाग्ला तर यो वास्तविकता हो राष्ट्रिय खेल भलिबलको अहिलेसम्म एउटा छुट्टै ‘कभर्ड हल’सम्म छैन। आफ्नै कभर्डहल नहुँदा भलिबलका अन्तर्राष्ट्रिय प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्ड हलमा हुने गरेका छन्।
गत वर्ष भदौमा आयोजना भएको पुरुष एभिसी सेन्ट्रल जोन च्याम्पियनसीप नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा खेलाइएको थियो। १३ औं दक्षिण एशियाली खेलकुद (साग) त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा भएको थियो। अन्य अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि पनि राखपे कभर्ड हलको विकल्प छैन।
पूर्वधार र लगानीमा सरकारको चरम बेवास्ता रहे पनि भलिबल संघ र खेलाडीको आफ्नै प्रयासमा राष्ट्रिय खेल विस्तारै सिँढी उक्लिरहेछ। गत वर्ष महिला भलिबल टोलीले दुई ठूला सफलता हासिल गर्यो। कार्तिकमा बगंलादेशमा भएको एभिसी एशियन सेन्ट्रल जोनको पहिलो सहभागितामा नै नेपाली राष्ट्रिय महिला टोलीले स्वर्ण जितेर फर्केको थियो। त्यसको महिना दिन नबित्दै मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा महिला टोलीले रजत पदक जित्यो। यो नेपाली महिला भलिबल इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हो।
भलिबल कभर्ड हल निर्माणका लागि हेरिएको बुढानिलकण्ठस्थित जग्गा। तस्विरः भीम ओली
बुढानिलकण्ठमा बन्ला त भलिबल कभर्ड हल?
भलिबल नेपालको राष्ट्रिय खेल भनेर गर्व गरिए पनि पूर्वाधार अभावमा अहिलेसम्म राष्ट्रिय वा अन्तराष्ट्रिय प्रतियोगिताका लागि राखेप कभर्ड हल वा आर्मीमको मुख नताकी सुख छैन। संघ अध्यक्ष मनोरञ्जन रमण शर्मा भन्छन्, ‘बजेट अभाव र पूर्वाधारबिना पनि हामी भलिबललाई नयाँ उचाईमा पुर्याउन निरन्तर लागिरहेका छौं। सरकारले बजेट दिएको छैन तर पनि हामीले विभिन्न क्षेत्रलाई गुहार्दै प्रतियोगिता गर्दै आएका छौं।’ यो वर्ष सरकारले केही गर्ला भनेर आशा राखेको उनी बताउँछन्।
संघले अन्तर्राष्ट्रिय स्तरको भलिबल कर्भड हल बनाउन गत माघ १३ गते जग्गा अवलोकन गरेको थियो। सरकारले भलिबल कोर्ट बनाउनका लागि मूलपानी र कीर्तिपुरमा रहेको जमिन हेर्न भनेको छ। शर्मा भन्छन्, ‘पहिलो चरणमा बुढानिकण्ठको जग्गा हेरेको थियौं। मूलपानी र कीर्तिपुरमा यसअघि नै क्रिकेट स्टेडियम रहेकाले बूढानीलकण्ठमा भलिबल कोर्ट बनाउन उपयुक्त छ।’
शर्माका अनुसार संघले बूढानीलकण्ठमा ५ हजार दर्शक क्षमताको कभर्ड हल बनाउने योजना राखेको छ। त्यहीँ भलिबल एकेडेमी पनि सञ्चालन गर्ने लक्ष्य रहेको उनी सुनाउँछन्। ‘एकेडेमीमा जिम, २ ट्रेनिङ हल, चेन्जिङ रुम, अफिसियल रुम सहित अन्तर्राष्ट्रिय मापदण्डका सबै संरचना निर्माण गर्ने भन्ने सोचमा छौं’, शर्मा भन्छन्।
बुढानिलकण्ठस्थित करिब ६० रोपनी जग्गामध्ये भलिबल संघले कति जग्गा पाउने भन्नेबारे अझै टुंगो लागिसकेको छैन। यसअघि राखेपका सदस्यसचिव रमेश सिलवाल, संघका अध्यक्ष शर्मा संघ महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले जमिन अवलोकन गरेका थिए। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण पछिल्लो समय त्यसपछिका सबै प्रक्रिया स्थगित छन्।
संघका उपाध्यक्षय यम बहादुर गुरुङ सरकारले पूर्वाधार दिन नसके पनि जग्गा दिए आफूहरुले सहयोग उठाएर भलिबल कोर्ट बनाउने बताउँछन्। ‘सके सरकारले नै केही सहयोग गरोस् सक्दैन भने जग्गा मात्र दिए हामीले नै बनाउने थियौं’, उनी भन्छन्।
खेलकुद विकासको मुख्य आधार भौतिक पूर्वाधार हो। भलिबल राष्ट्रिय पुरुष टोलीका कप्तान इम राना कभर्ड हल अभाव हुँदाको असर खेल स्तरमा परेको बताउँछन्। भन्छन्, ‘कभर्ड हल अभावमा हुँदा खेलस्तर उकास्न सकस परेको छ। हामीले पटक—पटक आग्रह गर्दा पनि कुनै कुरा सुनुवाई भएन।’
भलिबलः हिमाल, पहाड तराईको खेल
मन्त्रिपरिषदले २०७४ जेठ ७ गते सोमबार भलिबललाई राष्ट्रिय खेल बनाउने आधिकारिक निर्णय गरेको हो। त्योभन्दा अगाडि अनौपचारिक रुपमा डन्डिबियो वा कबड्डीलाई राष्ट्रिय खेल मानिन्थ्यो। युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई राष्ट्रिय खेल बनाउन तेक्वान्दो, क्रिकेट र भलिबललाई सिफारिश गरेको थियो। पुष्पकमल दाहाल अध्यक्षताको मन्त्रिपरिषदले थोरै लगानी र हिमाल, पहाड, तराई तीनै वटै ठाउँमा खेलिने तर्क दिँदै भलिबललाई राष्ट्रिय खेलको रुपमा छानेको थियो।
भलिबल ‘राष्ट्रिय खेल’ बनेको ३ वर्ष पूरा भएको दिन बिहीबार भलिबल संघले कुनै औपचारिक कार्यक्रम राखेको छैन। संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सामाजिक सञ्जालबाट शुभकामना सन्देश दिँदै विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्नुपरेको उल्लेख गरेका छन्। ‘सामाजिक सन्जालमार्फत् शुभकामना आदानप्रदान गरी राष्ट्रिय खेल घोषणा भएको दिनको खुसीयाली मनाउनु हुन सबैलाई आग्रह गर्दछु’, उनले भनेका छन्।
Shares

प्रतिक्रिया