नेपाल मेडिकल काउन्सिलले विदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता लिएको छ।
काउन्सिलको पूर्ण बैठकले यसअघि गरेको निर्णय उल्टाउँदै चिकित्सकको लाइसेन्स यथावत राख्ने निर्णय गरेको हो। यसअघि काउन्सिलले ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो।
यसको गैरआवासिय नेपाली संघ (एनआरएनए)ले विरोध गरेको थियो। गैरआवासिय नेपाली चिकित्सकको लाइसेन्स यथावत राख्ने एनआरएनएले आग्रह गरेको थियो।
एनआरएनएको आग्रहमा काउन्सिलले विदेशमा रहेको नेपाली चिकित्सकलाई दर्ताका लागि आवाह्न गरेको छ। ‘गैरआवासीय नेपाली चिकित्सकको दर्ता प्रक्रियाका लागि गैरआवसीय नेपाली नागरिक चिकित्सकको रुपमा नेपाल मेडिकल काउन्सिलमा दर्ता हुन आह्वान गर्ने,’ काउन्सिलको निर्णयमा भनिएको छ।
त्यस्तै, काउन्सिलले गैरआवासीय नेपाली चिकित्सक दर्ता र चिकित्सकीय अभ्यास सम्बन्धी कार्यविधि, २०८१ लाई संशोधन गर्न तथा गैरआवासीय नेपाली चिकित्सक दर्तासम्बन्धी व्यवस्थालाई नेपाल मेडिकल काउन्सिलको नियमावली, २०२४ मा समावेश गर्न कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ।
यससँगै काउन्सिलले विभिन्न समिति गठन गरेको छ। जसमा शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायिक आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद एकाइ रहेका छन्।


Shares

प्रतिक्रिया