निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्।
घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन्।
बिरामी हुनेहरूमा बडिगाड गाउँपालिका–५ खारकी ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीया शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीया पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहेका छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको उनले बताए।
बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिइन्। चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षण देखिएका छन्।
नियमित जस्तै उनीहरू आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन्।
Shares

प्रतिक्रिया