समाज


एक युवाका कोरोना संक्रमण देखिएपछि हलेसी तुवाचुङ नगरपालिका सिल

एक युवाका कोरोना संक्रमण देखिएपछि हलेसी तुवाचुङ नगरपालिका सिल

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १०:१६,

एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ।

काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै मंगलबारदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो।

एक युवकमा कोरोना भाइरसको संक्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए। ‘युवकमा देखिएको कोरोना भाइरसको संक्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ’, उनले भने, ‘यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ।’

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ। संक्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए।

कोरोना भाइरसको संक्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए।

कोरोनाको संक्रमित युवकलाई सोमबार साँझदेखि नै आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रजिअ पौडेलका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको संक्रमित युवकलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ।

यस्तै संक्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेका ५१ व्यक्ति, उनको सम्पर्कमा रहेका व्यक्तिलगायत गरी ५० जनाको पीसीआर टेष्टका लागि अहिले स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए। हाल संक्रमित युवकसँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको जनाइएको छ।

संक्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुनसक्ने अनुमान गरिएको छ। संक्रमित युवक होम क्वारेन्टिनमा बसेको भनिए पनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए। सो आयोजनाको काममा संलग्न व्यक्तिमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने भएकाले उनीहरु सबैको पीसीआर टेस्ट गर्ने तयारी गरिएको वडाध्यक्ष चइन्द्र राईले बताए।

पीसीआर टेस्टका लागि स्वाब संकलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन्।

संक्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा संकलकको काम गर्दै आएको स्रोतले जनाएको छ। गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad