शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ। रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पु¥याएपछि आइतबार साँझ आगावमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो।
वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो। कार्यालयका अनुसार उक्त क्षेत्रको आठ स्थानको बाट डाइभर्सन बनाइ आवागमन गराइएको हो। आइतबार नै सात स्थानको डाइभर्सन बनाएपछि चारसयबेंसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा बर्षा भएपछि थप काम रोकाइएको थियो।
शनिबार दिउँसो वर्षा सुरु भए लगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३ः३० बजेदेखि आवागमन बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले बन्द गराएको हो।
गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनःअस्थायी डाइभर्सन निर्माण गरिएको थियो। गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ।
राजजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो। कतिपय साना सवारीसाधनलाई तेमाल गाउँपालिका हुँदै वैकल्पिक मार्गबाट नमोबुद्ध नगरको भकुण्डेसम्म ल्याइएको थियो। रासस
Shares

प्रतिक्रिया