समाज


मौसम महाशाखाले फेरि भन्योः बंगालमा विकसित चक्रवात धेरै शक्तिशाली छ, होसियार बनौं

मौसम महाशाखाले फेरि भन्योः बंगालमा विकसित चक्रवात धेरै शक्तिशाली छ, होसियार बनौं

नेपालखबर
जेठ ५, २०७७ सोमबार २:०,

बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सोमबार बिहान दाेस्राेपटक विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैलाई अनुराेध गरेकाे हाे। 

विशेष बुलेटिनमा भनिएकाे छ: हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अम्पुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशैभर बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।  

यसअघि महाशाखाले आइतबार पनि यस विषयमा सचेत गराएकाे थियाे। याे दाेस्राे बुलेटिनमा त्याे चक्रवात अझ शक्तिशाली बन्दै गएकाे जानकारी गराइएकाे छ। 

 

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रतिघण्टा १३ किलोमिटरको वेगमा अहिले यो चक्रवात भारतको उत्तरतर्फ अघि बढ्दै छ र याे चक्रवातभित्रकाे आँधीको वेग प्रतिघण्टा ४०७ किलाेमिटर छ। अहिले याे प्रणाली भारतका  आन्ध्र प्रदेश, उडिसा, केरलालगायत राज्यमा आइसकेको छ। जसकाे असर श्रीलंका, इन्डाेनेसियामा पर्न सुरु भइसकेकाे छ। 

यो अझ उत्तर बढ्दै जाने क्रममा बंगलादेश हुँदै नेपालमा पनि प्रभाव पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए।

चक्रवातको नाम
जुन ठाउँमा चक्रवात बन्छ, त्यही ठाउँको भाषाअनुसार यसको नामकरण गरिन्छ।

यसैकारण अंग्रेजीमा ए एम पी एच ए एन लेखिए पनि त्यसको उच्चारण अम्पुन नै गरिएको मौसमविद् श्रेष्ठले जानकारी दिए।

नेपालमा कहिलेदेखि कस्तो असर पर्छ?
यो चक्रवात शक्तिशाली भए पनि यो पूरै प्रणाली नेपालमा प्रवेश गर्दैन। पूरै चक्रवात नेपाल भित्रिने भए धेरै क्षति गर्थ्यो। नेपालमा त्यसको असर मात्र आइपुग्ने हो।

मौसमविद् समीर श्रेष्ठका अनुसार यो चक्रवातको माथिल्लो तहको बादल भोलि (मंगलबार) नेपाल प्रवेश गर्ने सम्भावना छ। जसले पानी पार्दैन, मौसम बदली मात्र गराउँछ। 

उनका अनुसार त्यो चक्रवातको बादलले बिहीबारदेखि चाहिँ नेपालमा वर्षा र हिमपात सुरु हुनेछ।

उच्च, मध्य र तल्लो गरी चक्रवातमा तीन तहका बादल हुन्छ। उच्च बादल सबैभन्दा कमजोर हुन्छ भने तल्लो बादल सबैभन्दा शक्तिशाली।

‘नेपालमा मध्यमसम्मको बादल आइपुग्ने सम्भावना छ, जसले हल्कादेखि मध्यमसम्म वर्षा तथा मध्यमदेखि भारीसम्म हिमपात गराउने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘खासगरी यसले देशको पूर्वी भागमा बढी प्रभाव पार्नेछ।’

यद्यपि यसको असर देशकाे मध्य क्षेत्रसम्म पर्नेछ र धेरथोर प्रभाव देशभरि नै हुनेछ।

देशभर गर्मी बढ्यो
मौसमविद्का अनुसार गत हप्ताको तुलनामा अहिले देशभर गर्मी बढेको छ।

यसअघि वर्षा भएको तर केही दिनदेखि रोकिएकाले काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा तापक्रम बढेको हो।

‘नेपालमा अहिले जलवाष्पयुक्त वायु आउन बन्द भएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘जसले गर्दा एक-दुई दिनयता वर्षा बन्द भएको हो र तापक्रम बढेको हो।’

नेपालमा मुख्य गरी बंगालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त हावाले वर्षा गराउने बादल विकास गराउँछ। अहिले बंगालको खाडीमा चक्रवात बनेकाले नेपालमा जलवाष्पयुक्त वायु आउन छाडेको छ भने अरब सागरबाट अहिले यस्तो वायु आउन बन्द भएकाले नेपालमा वर्षा हुन छाडेको मौसमविद् श्रेष्ठले बताए।

साथै पश्चिमी वायु तथा स्थानीय वायुको पनि अहिले प्रभाव कमजोर भएकाले पानी पर्न नसक्दा देशभर गत हप्ताको तुलनामा गर्मी बढेको उनको भनाइ छ।

उनका अनुसार गत हप्ता काठमाडौंको तापक्रम २५ डिग्रीसम्म रहेकामा हिजो आइतबार ३० डिग्री पुगेको र तराईमा अधिकतम ३० डिग्री रहेकामा अहिले ३९ डिग्रीसम्म पुगेको छ।

‘अब भोलिदेखि चक्रवातको बादल नेपाल प्रवेश गर्ने भएकाले तापक्रम केही घट्ने देखिन्छ,’ उनले भने, ‘बिहीबारदेखि त वर्षा नै हुन थाल्नेछ, त्यसपछि गर्मी पनि कम हुने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad