समाज


साझा बसको रात्री सेवाले यात्रुलाई सुबिस्ता, राति काम गर्नेहरू भन्छन् : सधैँ चल्नुपर्छ (भिडिओ)


आयुषा ढकाल
बैशाख ५ , काठमाडौँ

काठमाडौँको महाराजगञ्जबाट सुस्मिता माझी राति ९ बजे साझा यातायातमा चढिन्। बसभित्र छिरिसकेपछि माझीको अनुहारमा चिन्ताको रेखा मेटियो। उनी ढुक्क भएर सिटमा बसिन्।

साझा यातायातको रात्रिकालीन सेवालाई प्रत्यक्ष अनुभव गर्न लगनखेलदेखि बुढानीलकण्ठसम्म गएको नेपालखबरको टोलीले उनलाई सोधेपछि थाहा भयो- उनी बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा सेक्युरिटी गार्डको काम गर्दिरहिछन्।

हरेक दिन राति ९ बजे महाराजगञ्जदेखि बुढानीलकण्ठको देउवा चोक कसरी पुग्ने भन्ने चिन्ताले उनलाई सताउने गरेको सुस्मिताले नेपालखबरसँग बताइन्।

‘राति बस पाइँदैनथ्यो अनि पठाओ पनि भन्नासाथ नपाइने, पाइए पनि धेरै महँगो हुन्थ्यो,’ माझीले नेपालखबरसँग भनिन्, ‘यो रातिको साझा यातायात आउन थालेपछि त ढुक्क भएको छ।’

उनको घर सिन्धुली हो। कक्षा १२ को पढाइ सकिएपछि माझीले ‘आफैँ काम गरेर आत्मनिर्भर बन्न’ दुई महिनाअगाडि मात्र सेक्युरिटी गार्डको काम सुरु गरेकी हुन्।

‘राम्रो कमाइ हुन्छ, कुनै पनि काम सानो–ठूलो हुँदैन,’ माझी भन्छिन्, ‘मेरो काममा दु:ख पनि हुन्छ। तर सबभन्दा पीर चाहिँ राति घर जानै हुन्थ्यो। अहिले सजिलो भयो।’

माझीले बस सञ्चालनमा आएको पहिलो दिनदेखि नै साझा यातायातमा यात्रा गर्न थालेकी हुन्।

कुशल घिमिरे बुढानीलकण्ठको लेमन ट्री होटलमा राति १० बजेदेखि बिहान ६ बजेसम्म काम गर्छन्। काठमाडौँको मनमैजु बस्ने उनले राति बुढानीलकण्ठसम्म जाने बस वा पठाओ नपाउँदा समस्या झेल्दै आएका थिए। त्यसैले उनलाई लाग्थ्यो, ‘रातिको काम असुरक्षित पो रहेछ।’

जसोतसो काम गरिरहेका उनले एकदिन समाचारमा देखे- वैशाख १ गतेदेखि रात्रिकालीन बस सञ्चालनमा आउँदैछ।

‘समाचार देखेपछि यो सेवा त मेरै लागि हो जस्तो लाग्यो,’ घिमिरेले भने।

रात्रिकालीन बसले आफ्नो काममा जाने यात्रुलाई सुरक्षित बनाइदिएको उनले बताए। कुशल यो सुविधा अरु रुटहरूमा पनि सञ्चालनमा आओस् भन्ने चाहन्छन्।

अरु यात्रु पनि रात्रिकालीन बस सञ्चालनमा आएको कुराले खुसी देखिन्छन्। हाल पेट्रोलको भाउ महँगो भएको छ। यस्तो समयमा आफ्नै साधन लिएर अफिस ओहोर–दोहोर गर्न उनीहरूलाई असहज भएको थियो। साथै, कहिलेकाहीँ काम ढिलोसम्म हुने भएकाले सस्तो, सुलभ र सुरक्षित रात्रीकालीन बस सेवा सञ्चालनमा आएकोले एकदमै खुसी लागेको उनीहरूले बताए।

‘यो सेवा सधैँ चल्नुपर्छ,’ एक यात्रुले भने।

वैशाख १ गतेदेखि सञ्चालनमा आएको काठमाडौँ रात्रिकालीन साझा यातायात सेवाले रातिको समयमा यात्रा गर्नेहरूलाई ठूलो राहत पुगेको छ। काठमाडौँ महानगरपालिकाको पहल र ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकासँगको समन्वयमा साझा यातायातले यो सेवा सञ्चालनमा ल्याएको हो।

काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले रातिको समयमा यातायात नपाउँदा काम गरेर फर्कने बेलामा भएको असहजतालाई आफूले भोगेको र यो बस अत्यन्तै आवश्यक तथा महत्वपूर्ण रहेको बताइन्।

अन्य बसहरूमा भन्दा फरक, अत्याधुनिक र आवश्यक सेवाका कारण साझा बसप्रति यात्रुहरूको आकर्षण बढेको छ।

लगनखेलदेखि जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लाजिम्पाट, महाराजगञ्ज हुँदै बुढानीलकण्ठसम्म पुग्ने रात्रीकालीन साझा यातायातको एउटा रुट हो। त्यस्तै अर्को रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, एनएसी, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की हुँदै थानकोट पुग्छ।

लगनखेलदेखि बुढानिलकण्ठ जाने रुटमा तीन वटा रात्रिकालीन बस सञ्चालनमा छन् भने एयरपोर्टदेखि थानकोट जाने चार वटा। एउटा बस आफ्नो रुटमा दुई पटक ओहोर–दोहोर गर्छ। राति ८ बजेदेखि ११ बजेसम्म चल्ने रात्रीकालीन बस लगभग २०–२५ मिनेटको अन्तरालमा पाउन सकिन्छ। भाडा उठाउँदा डिभाइसमा लाग्ने भाडा लेखेर टिकट दिने तरिका अपनाइएको छ।

काठमाडौँमा रात्रिकालीन बस सेवा सुरुवात भएको यो पहिलो पटक भने होइन। यसअघि कोभिड–१९ को लकडाउनअघि पनि यो सेवा सञ्चालनमा थियो तर बसमा चालक, सहचालक र यात्रुले नै असुरक्षित महसुस गरेपछि सेवा रोकिएको थियो।

यसपटक भने यस सेवालाई सुरक्षित र दीर्घकालीन बनाउन हरेक बसमा एक नगर प्रहरी पनि तैनाथ गरिएको छ। ७ वटा बसमा ७ जना नगर प्रहरी खटिएका छन्।

पहिले केही यात्रुले लागुपदार्थ सेवन गरेर बसमा चढ्ने र त्यसबाट चालक, सहचालक तथा यात्रुले नै असुरक्षित महसुस गर्ने गरेका थिए। तर अहिले हरेक बसमा नगर प्रहरी खटिएपछि यात्रु, चालक र सहचालकले सुरक्षित यात्राको अनुभव गरेको बताए।

रातको यात्रालाई राम्रो बनाउन बसमा एलईडी टीभीको पनि व्यवस्था गरिएको छ। साथै, यस बसमा यात्रुको सामान छुटेमा हराउने या चोरी हुने चिन्ता पनि छैन। किनकि बसमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। जसमा अडियो पनि सुन्न सकिन्छ र फुटेजहरू एक महिनासम्म रहने व्यवस्था छ।

रातिको समयमा सडकमा बस कतिबेला आउँछ भनेर यात्रुले बाटो रुँगेर बस कुर्नुपर्ने झन्झट पनि छैन। किनकि साझा यातायातको ‘साझा प्लस’ नामक एप छ, जसमा कुन रुटको बस हाल कहाँ छ भनेर हेर्न सकिन्छ।

अर्को सुविधा के छ भने डिजेलवाला बसको भाडा हाल महँगिएको समयमा विद्युतीय बस हुनाले भाडा पनि पहिलेको जस्तै छ। साथै, यस बसमा विद्यार्थीको कार्ड पनि चल्छ।

 

बैशाख ४, २०८३ शुक्रबार २१:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad