ट्राफिक प्रहरीले काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँको सुकेधारा स्थित सडक खण्डबाट बागमती प्रदेश०२–०३४ प ९८३१ नम्बरको मोटरसाइकल हराएको भन्दै पीडितले खोज तलास गरी पाऊँ भनि निवेदन दिएका थिए।
उक्त नम्बरको मोटरसाइकल खोज तलासका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–४ रातोपुल नजिक एक वर्कशपबाट ट्राफिक प्रहरीले फेला पारेको हो। वास्तविक नम्बर प्लेट परिवर्तन गरी हाल प्रदेश ३–०२–०१४ प ९९२३ नम्बरको प्लेट लगाई पार्टपुर्जा, इन्जिन समेत खोली यत्रतत्र छरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकल बरामद गरि सो कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न आग्रह गरिएको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।
Shares

प्रतिक्रिया