२०८२ सिनेक्षेत्रका लागि उत्साहजनक वर्ष साबित भयो। चलचित्र विकास बोर्डका अनुसार गत वैशाखदेखि हालसम्म ५६ वटा नेपाली फिल्म रिलिज भइसकेका छन्। गत वर्षझैँ यस वर्ष पनि नेपाली फिल्महरूको कुल व्यापार एक अर्ब नाघ्यो।
यस वर्षको अन्त्यमा चैत २७ गते विराज भट्टको फिल्म ‘राम नाम सत्य’ रिलिज हुँदैछ। यससँगै रिलिज हुने फिल्मको संख्या ५७ पुग्नेछ।
यो वर्ष पारिवारिक कथावस्तुमा बनेको ‘परान’ धेरै कमाउने फिल्म हो। बोर्डको तथ्याङ्कअनुसार फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ। यो फिल्म वर्षकै धेरै कमाउने फिल्म मात्रै बनेन, कलाकार नीर शाहको करिअरकै टर्निङ प्वइन्ट पनि बन्यो। किनकि शाहले यस फिल्मबाट पाँच दशकभन्दा लामो अभिनय यात्रामा ठूलो सफलता हात पारे। बुवाको भूमिकामा देखिएका ७१ वर्षीय शाहले चौतर्फी वाहवाही पाए। यस्तो प्रतिक्रिया आजसम्म नपाएको उनले केही अन्तर्वार्तामा स्वीकारेका छन्। उनले ‘परान’लाई आफ्नो यात्राको क्लाइम्याक्स समेत भनेका छन्।
‘परान’मा शाहसहित अर्का अभिनेता महेश त्रिपाठीले पनि निकै चर्चा पाए। ‘हल्कारा’, ‘लाज शरणम्’ जस्ता फिल्म खेलेका महेशको अभिनयको प्रशंसा हुन्थ्यो। तर, बक्सअफिसमा ‘परान’ को जादु चलेसँगै महेशले पहिलोपटक हिट फिल्मको स्वाद चाख्न पाए। राम्रो अभिनयका कारण चिनिने महेश पछिल्लो समय लगातार फिल्मको सुटिङमा व्यस्त छन्।
कथासँगै पात्र चलेपछि यस वर्ष चकलेटी हिरोहरूको दिन फर्किए भन्दा फरक नपर्ला। किनकि ०८२ मा पल शाहसहित अनमोल केसीका फिल्मले राम्रै व्यापार गरे।
नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल पनि हिट कमब्याकको खोजीमा थिए। ‘पूजार सार्की’ बाट राहत पाए पनि गत वर्ष रिलिज भएको ‘रावायण’बाट पललाई ठूलो धक्का लाग्यो। किनकि यो फिल्म नचलेपछि पललाई सम्झौता गरिएका फिल्मबाट समेत हटाइएको थियो। जसकारण उनको अभिनय करिअर धरापमा थियो। तर, गत साउन २३ बाट रिलिज भएको ‘मोहर’ हिट भयो। यस वर्ष धेरै कमाउने फिल्मको सातौँ स्थानमा रहेको यस फिल्मले ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ कमायो।
यसै वर्ष ‘मोहर’ सहित पलको मुख्य भूमिका रहेको अर्को फिल्म ‘आबाट आमा’ ब्लकबस्टर भयो।
गत माघ १६ गतेदेखि प्रदर्शनरत यस फिल्मले चैत २१ सम्म १३ करोड १३ लाख ७८ हजार रुपैयाँ कमाइसकेको छ। यो सँगै ‘आबाट आमा’ यस वर्षको धेरै कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा छ। साथै यो पलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो। पारिवारिक फिल्मले वैदेशिक रोजगारको कथा भन्छ। यस फिल्मको दोस्रो भाग पनि घोषणा भइसकेको छ। जसमा पल नै मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्।
अभिनेता अनमोल केसी पनि बक्सअफिसमा छाए। तीन वर्षअघि अनमोलले असफलता भोगेका थिए। उनको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ फ्लप भयो। त्यसपछि उनी ‘रावायण’ मा विश्वासघात गरेको आरोपमा पक्राउ समेत परे। केही दिन हिरासतमा बस्नुपर्यो। त्यो बेला अनमोलले पहिलोपटक फिल्मी करिअरमा नमिठो अनुभव पाए।
गत असारमा चलचित्र विकास बोर्डले २५ वर्षमा धेरै कमाउने २५ फिल्मलाई सम्मान गरेको थियो। तर, एक दशक लामो करिअर भएका र ‘मेगास्टार’ ट्याग पाएका अनमोलको एउटा फिल्म पनि त्यो सूचीमा अटाएन। यद्यपि, गत वर्ष रिलिज भएको ‘फर्की फर्की’ बाट अनमोलले केही राहत पाएका थिए।
तर, ‘जेरी अन टप’ रिलिजसँगै अनमोल करिअरकै टपमा पुगे। यस वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो नम्बरमा रहेको यस फिल्मले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइसकेको छ। जुन अनमोलको करिअरकै धेरै कमाउने फिल्म समेत हो। सुयोग गुरुङ निर्देशित यस फिल्मले त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्माले पनि यस फिल्मबाट ठूलो सफलता पाए।
पछिल्लो समयकी चर्चित अभिनेत्री मिरुना मगर पनि यस वर्ष बक्सअफिसमा चम्किइन्। उनको मुख्य भूमिका रहेका दुई फिल्म धेरै कमाउने शीर्ष पाँचमा परे।
गत वैशाखमा रिलिज भएको ‘ऊनको स्विटर’मा मिरुना र विपिन कार्की मुख्य भूमिकामा थिए। म्युजिक लभस्टोरी जनरामा बनेको यस फिल्ममा मिरुना र विपिनको जोडीलाई दर्शकले निकै रुचाए। यस वर्ष धेरै कमाउनेमध्ये चौथो स्थानमा रहेको यस फिल्मले ११ करोड ४१ लाख ९२ हजार रुपैयाँ कमायो। यो सँगै मिरुना र भर्सटाइल एक्टर विपिनले यस वर्ष सुपरहिट फिल्म दिन सफल भए।
‘ऊनको स्विटर’ सहित मिरुना अभिनीत गत कात्तिकमा रिलिज भएको ‘जारी २’ पनि हिट भयो। मिरुनासहित दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको यस वर्ष धेरै कमाउने पाँचौँ फिल्म हो। ‘जारी २’ २०८० सालमा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल हो। फिल्मले अपेक्षाकृत व्यापार गर्न नसके पनि ६ करोड २४ लाख १७ हजार रुपैयाँ कमायो।
Shares

प्रतिक्रिया