राजनीति


स्वास्थ्य बीमाको उपलब्धि सुन्न गएकाहरू जब मन्त्रीको आक्रोश देखेर अवाक बने

स्वास्थ्य बीमाको उपलब्धि सुन्न गएकाहरू जब मन्त्रीको आक्रोश देखेर अवाक बने

नेपालखबर
चैत २५, २०८२ बुधबार २१:३१, काठमाडौँ

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्ष पुगेको अवसरमा बुधबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा एउटा विशेष समारोह थियो। कार्यक्रमको उद्देश्य बीमाका उपलब्धि सार्वजनिक गर्ने र आगामी बाटो तय गर्ने थियो। तर, प्रमुख अतिथिका रूपमा निम्त्याइएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य मन्त्रालय र कर्मचारीतन्त्रमाथि तीव्र आक्रोश पोखेपछि कार्यक्रमको माहोल नै बदलियो।

निर्धारित समयभन्दा आधा घण्टा ढिलो पुगेका मन्त्री साहले मञ्चमा बस्नेबित्तिकै स्वास्थ्य क्षेत्रको कार्यशैलीप्रति आपत्ति जनाउन थाले। करिब १५ मिनेटको सम्बोधनमा उनले स्वास्थ्य मन्त्रालयदेखि बीमा बोर्ड र स्वास्थ्यकर्मीसम्मलाई दोषारोपण गरे। ‘म नयाँ नेता परेँ, मलाई भाषण दिन आउँदैन’ भन्दै व्यङ्ग्यबाट कुरा सुरु गरेका साहले लगत्तै रुष्ट शैलीमा कर्मचारीतन्त्रमाथि प्रहार गरे।

उनले स्वास्थ्य बीमा प्रणाली दयनीय अवस्थामा पुग्नुमा स्वास्थ्य मन्त्रालय र कर्मचारीको ‘सेटिङ’ जिम्मेवार रहेको आरोप लगाए। मन्त्री साहले भने, 'पहिले नागरिक हुँदा नेताले देश बिगारे भन्ने लाग्थ्यो तर मन्त्री भएपछि बुझ्दै जाँदा कर्मचारीतन्त्रले नेता घुमाएको देखियो। म मन्त्रालयका कर्मचारीलाई आग्रह गर्छु– नेता घुमाउने काम बन्द गर्नुहोस् र पहिला आफैँ सच्चिनुहोस्।'

साहले बीमा बोर्डको आर्थिक असन्तुलनप्रति चिन्ता व्यक्त गर्दै योगदानबाट ३–४ अर्ब मात्र उठ्ने र खर्च ३० अर्ब पुग्ने अवस्थाले सरकारले धान्न नसक्ने दाबी गरे। उनले अस्पतालहरूले अनावश्यक परीक्षण गराएर बिरामीको पैसा सिध्याउने गरेको भन्दै त्यसलाई ‘मोरल हाजार्ड’ को संज्ञा दिए।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्षमा बीमितको संख्या ५६ लाख ८० हजार पुगेको छ। २०७२ चैत २५ मा कैलालीबाट सुरु भएको यो कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार भएको छ। कुल ९८ लाख बीमितमध्ये हाल ५९ लाख मात्र सक्रिय छन्। वार्षिक करिब २५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिए पनि हालको प्रिमियमले खर्च धान्न मुस्किल छ। 

सम्बोधनका क्रममा मन्त्री दीपककुमार साहले बोर्ड सदस्यहरूलाई ‘रबर स्ट्याम्प’ बनाइएको भन्दै कार्यकारी नेतृत्वको आलोचना गरे।

 मन्त्रीले मञ्चमै रहेका स्वास्थ्य सचिव र अन्य उच्च अधिकारीहरूलाई लक्षित गर्दै ‘आत्मालोचना गर्न’ सुझाव दिँदा हलमा सन्नाटा छाएको थियो। स्वास्थ्य बीमाका उपलब्धि सुन्न आएका सहभागीहरू मन्त्रीको आक्रोश र कर्मचारीतन्त्रमाथिको सिधा प्रहारले चकित परेका थिए। बोर्डका एक पदाधिकारीका अनुसार सामाजिक सुरक्षा कोष र बीमा बोर्डबीच समन्वय हुने अपेक्षाले उनलाई बोलाइएको भए पनि कार्यक्रम विवाद र आरोप–प्रत्यारोपमा टुङ्गिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad