माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ। तर, शिक्षा क्षेत्रका विज्ञहरूले यसमा असहमति जनाएका छन्।
उनीहरूले एसईई परीक्षाको नतिजा छिटो प्रकाशन गर्ने निर्णय सही भए पनि १ महिना समय तोक्नु गलत भएको बताएका हुन्। ५ लाख विद्यार्थीको उत्तरपुस्तिका १ महिनाभित्र परीक्षण गरेर नतिजा निकाल्दा गुणस्तरमाथि प्रश्न उठ्ने विज्ञहरूको भनाइ छ।
राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष चन्द्रमणि पौडेल १ महिना समय नतोकी छिटो नतिजा प्रकाशनलाई जोड दिनुपर्ने बताउँछन्।
‘३ महिना लगाएर प्रकाशन हुने नतिजालाई १ महिनामै सक्छु भन्न सुरुमा प्रक्रिया मिलाउनु पर्छ। यो वर्ष प्रक्रिया मिलाएर अर्को वर्षदेखि १ महिनामा नतिजा निकाल्ने भनेर निर्णय गरेको भए उत्तम हुन्थ्यो,’ उनले नेपालखबरसँग भने, ‘शिक्षामन्त्रीले १ महिनामै नतिजा निकाल्छु भनेर निर्णय गरेपछि असम्भव भनेर त के भन्नु। तर हतारमा गरेको कामले गुणस्तरीय नतिजा नल्याउला कि भन्ने डर बढाएको छ। हाम्रो अहिलेको प्रणालीले १ महिनाभित्र नदिन सक्छ।’
दुर्गम जिल्लामा विषयगत शिक्षकको अभाव छ। फेरि काठमाडौँजस्ता सहरी क्षेत्रमा निजी विद्यालयले परीक्षा केन्द्रलाई प्रभावित पारेर परीक्षा गराएका हुन्छन्। त्यस्तोमा त्यही परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुँदा नतिजामा प्रभाव पर्ने देखिएको उनको भनाइ छ।
ज्ञानोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं शिक्षाविद् धनञ्जय शर्मा पनि १ महिनामा नतिजा निकाल्दा त्रुटि आउन सक्ने बताउँछन्। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा विश्वसनीयता र गोपनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ छ।
‘परीक्षा केन्द्रमै कपी चेकिङ हुँदा गोपनीयता र विश्वसनीयता नहुन सक्छ। कोडिङ–डिकोडिङ गरेर उत्तरपुस्तिका दिने गरिन्थ्यो। त्यही परीक्षण गर्ने भएपछि त्यसको सम्भावना रहँदैन,’ उनले भने, ‘त्यसले नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउँछ।’
तीन महिना लगाएर नतिजा निकाल्दा समेत धेरै त्रुटि देखिने गरेको भन्दै उनले नतिजा प्रकाशन गर्न १ महिना समय निकै कम भएको बताए।
‘३ महिनामा नतिजा प्रकाशन हुँदा त विद्यार्थीले पुनर्मूल्यांकन गर्दा नतिजा नै फरक आउने गरेको छ। पास भएका विद्यार्थीलाई फेलसम्म देखाउने गरेको छ। झन् १ महिनामा हतार–हतार उत्तरपुस्तिका परीक्षण गरेर नतिजा निकाल्न खोज्दा त्रुटि धेरै आउला कि भन्ने डर छ,’ उनले भने, ‘हतपतको कामले लतपत हुने सम्भावना छ।’
उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरूको राय लिनुपर्ने उनको भनाइ छ।
‘एउटा उत्तरपुस्तिका परीक्षण गर्न ३० मिनेटसम्म समय लाग्छ। नतिजा छिटो निकाल्न राम्रोसँग परीक्षण पो गर्दैनन् कि भन्ने डर बढाएको छ,’ उनले भने।
शिक्षाविद् विद्यानाथ कोइराला पनि उत्तरपुस्तिकाको विश्वसनीयता र गोपनीयतामाथि प्रश्न उठाउँछन्। छोटो समयमा नतिजा प्रकाशन गरेर विद्यार्थीलाई हुने मानसिक समस्या कम गराउने निर्णय राम्रो भएको भन्दै उनले उत्तरपुस्तिकामाथि बदमासी होला कि भन्ने डर भएको बताए।
‘एसईईको नतिजा १ महिनामा निकाल्न नसकिने भन्ने होइन। सकिन्छ। तर यो वर्ष नै सकिँदैन कि भन्ने भय छ,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पनि हतारमा गरिएको निर्णयले राम्रो नतिजा नल्याउने आशंका व्यक्त गर्छन्।
‘परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने र १ महिनाभित्र नतिजा ल्याउन यो वर्ष नै सम्भव नहोला। विद्यार्थीलाई पर्ने मनोसामाजिक असरलाई हेरेर निर्णय गरियो। निर्णय राम्रो हो। तर १ महिना मात्र समय तोक्नुले नतिजामा असर पार्न सक्ने देखिन्छ,’ उनले भने।
उत्तरपुस्तिका परीक्षणमा दुई विकल्प अपनाइने
सस्मित पोखरेल शिक्षा मन्त्रीमा नियुक्त भएलगत्तै एसईई परीक्षाको नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने गरी काम गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा बोर्डले परीक्षणको शैली बदल्ने निर्णय गरेको हो।
मंगलबार राति जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुखहरू सहित मन्त्री पोखरेलले निर्देशन कार्यान्वयन गर्दा आइपर्ने चुनौती र अपनाउनुपर्ने विधिका बारेमा भर्चुअल छलफल गरेका थिए। उक्त छलफलमा १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार जहाँ परीक्षा भएको हो, त्यहीँ कपी परीक्षण गर्ने तय गरिएको थियो। उक्त छलफलको निर्णयका आधारमा बोर्डले कार्यविधि तयार पारेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
सोही अनुसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री पोखरेलले विद्यार्थीलाई तनाव हुन नदिन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताएका छन्।
‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ। नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘१ महिना मात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ।’
७७ वटै जिल्लाका शिक्षा इकाईबाट १ महिनामा नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्री पोखरेलले बताए। बोर्डले परीक्षा सकिएको ३ दिनभित्रै देशभरका परीक्षा केन्द्रमा एसईई उत्तरपुस्तिका परीक्षण गराउने निर्णय गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले १ महिनामा नै नतिजा निकाल्न जहाँ परीक्षा केन्द्र छ, त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको बताए।
३ महिनामा निकाल्ने नतिजा १ महिनामा कसरी सम्भव छ भन्ने नेपालखबरको प्रश्नमा उनले उत्तरपुस्तिका एक ठाउँबाट अर्को स्थानमा लैजाँदा समय खर्च हुने देखेर परीक्षा भएकै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको बताए।
‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘अरूको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ।’
उनले शिक्षकमाथि राज्यले विश्वास गरेर निर्णय गरेको बताए।
‘शिक्षकले आफ्नो नैतिकता र जिम्मेवारी पूरा गरी उत्तरपुस्तिका परीक्षण गर्नुहुन्छ भनेर विश्वास गरेर नै निर्णय गरेका हौँ,’ उनले थपे, ‘कुनै त्रुटि नभई उत्तरपुस्तिका परीक्षण गर्नुहुन्छ होला भन्ने सोचेका छौँ।’
यसअघि गोप्य रूपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो। साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो।
एसईई परीक्षाका लागि विभिन्न जिल्लालाई पायक पर्ने गरी जिल्ला अनुसार परीक्षण केन्द्र निर्धारण गरिन्थ्यो। तोकिएका परीक्षण केन्द्रमा परीक्षकहरू गएर दिनभरि कपी परीक्षण गरी फर्कन्थे। यो वर्षदेखि त्यो व्यवस्था हट्ने बोर्डले जनाएको हो।
बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्।
Shares

प्रतिक्रिया