विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै लूबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गरेका छन्। सरकारले लूको जोखिम रहेका तराई मधेसका जिल्लामा जोखिम न्युनिकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको उनले बताए।
‘मनसुन सुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्नसक्ने पूर्वानुमान समेत आइरहेका छन्। लूको जोखिमबाट बँच्नको लागि हामी सबै आआफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्नेछ,’ उनले भने, ‘हिट वेभको सम्बन्धमा अलि बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले अलि बढी ध्यान दिनुपर्छ।’
डा. अधिकारीले लूबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिए। लूको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्नसक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
‘दिउँसो काम गर्दै आएका छौँ भने तापक्रम बढेको समयमा बिहान वा साँझको समयमा काम गर्ने, दिउँसोको समयमा घरमै बस्ने, झोलिलो खानेकुरा खाने, त्यसैअनुसारको आराम गर्नुपर्ने हुन्छ,’ डा. अधिकारीले भने, ‘हिट वेभको कारण आँखा तथा छालाको समेत दीर्घकालीन समस्याहरू हुनसक्छन्। त्यही भएर तापक्रम बढी भएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा सन्तुलन मिलाउनुपर्ने हुन्छ।’
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू लूको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको उनले बताए। लूको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन चिकित्सकले सुझाएका छन्।
‘बालबालिका तथा ज्येष्ठ नागरिक अलि बढी जोखिममा पर्ने भएको कारण उहाँहरूले अलि बढी साबधानी अपनाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा हामीले स्वास्थ्यलाई असर पर्ने खालका धुम्रपान तथा मद्यपानको सेवन नगर्ने लगायतका कामहरू गर्नुपर्ने हुन्छ,’ डा. अधिकारीले भने।
लू भनेको के हो?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्रतासँगै देखिन्छ। कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ। जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण लूको जोखिम बढ्दै गइरहेको छ।
लूका केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ। लूले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरुको चेतावनी छ।
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ। पछिल्लो समय अव्यवस्थित शहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ।
कंक्रिटका भवन र सडकहरूले ताप सोस्ने भएकाले शहरहरूमा लूको जोखिम अत्याधिक हुने गर्छ। वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत लू चल्छ।
के लूका लक्षण?
डिहाइड्रेसन: अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु।
गर्मीजन्य थकान: रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महशुस हुनु।
हिटस्ट्रोक: शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु।
मुटुमा दबाब: मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु।
लूबाट बच्न के गर्ने?
- दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कने।
- हल्का र खुकुलो कपडा लगाउने।
- चिसो वा छायाँयुक्त स्थानमा बस्ने।
- सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्ने।
- हल्का तथा पौष्टिक खाना खाने।
- चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्ने।
- शरीरमा पानीको मात्रा पर्याप्त राख्ने।
- रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्ने।
- अत्यधिक शारीरिक श्रम नगर्ने।
- गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने।
Shares

प्रतिक्रिया