कोरियाली राष्ट्रपति मुन जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन आइतबार देशबासीलाई अपिल गरेका छन्।
भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ। तर राजधानी सोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गरेका छन्।
गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
सोलका मेयर पार्क वोन–सूनले सानो असाबधानीले संक्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताएका छन्।
सोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ।
इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ। रासस/एएफपी

प्रतिक्रिया