कक्षा तीनपछि पढाइ छाडेकी मधेस प्रदेशकी १७ वर्षीया आपसना खातुन अहिले आत्मविश्वासका साथ भन्छिन्, ‘शिक्षा भनेको जीवन बदल्ने शक्ति रहेछ। डरले रोके पनि सपनाले अघि बढाउँदो रहेछ।’
शिक्षा र सपना सँगसँगै अगाडि बढाउँदै आएकी पर्साकी आपसना अहिले गाउँकै स्कुलमा कक्षा ९ मा पढ्दैछिन्।
उनी भन्छिन्, ‘घरायसी कामको जिम्मेवारीका कारण मैले तीन वर्ष पढाइ छाडेँ। पछि म किशोरी सिकाइ केन्द्रमा गएँ। नौ महिनाको त्यहाँको सिकाइले मभित्र आत्मविश्वास बढ्न थाल्यो।’
त्यसपछि उनी विद्यालयमा कक्षा ६ मा भर्ना भइन्। एकैपटक कक्षा ६ मा भर्ना हुँदा उनको मनमा अरु भन्दा पछि पर्छुहोला भन्ने अलिअलि डर पनि थियो।
पढाइप्रतिको लगाव र मेहनतका कारण उनी कक्षा ८ मा छात्रातर्फ दोस्रो सबभन्दा बढी जीपीए ल्याउन सफल विद्यार्थी भइन्।
अब गर्न सकिन्छ भन्ने विश्वास उनमा बढ्दै गएको छ। डर हराएको छ। भविष्यको सपना देख्न थालेकी छन्। उनी भन्छिन् ,‘म सरकारी अधिकृत बन्छु।’
यस्तै, कर्णाली प्रदेशकी छात्रा रोशनी रोका मगर विद्यालयमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन थालेपछि आफूमा आत्मविश्वास बढेको र नेतृत्वसीप बढेको बताउँछिन्।
उनी अहिले आफूले सिकेको कुरा आफ्नो समुदायमा पनि सिकाउँछिन्।
उनी भन्छिन्, ‘अलिअलि भए पनि कमाइ हुन्छ । समूहमा काम गर्न र नेतृत्व गर्न सक्ने रहेछु भन्ने बुझेकी छु । मेरो समुदायमा छोरी घरभित्रै बस्नुपर्छ बस्नुपर्छ भन्ने मान्यता अझैपनि छ। म यो परिवर्तन गर्न चाहन्छु।’
सक्षम बालिका समृद्ध नेपाल भन्ने थिमका साथ काठमाडौँमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा मधेस र कर्णाली प्रदेशका बालिकाहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाएका थिए।
कार्यक्रममा संघीय सरकारका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि , शिक्षक, गैरसरकारी संस्था तथा विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए।
आफ्ना कथा सुनाउने क्रममा कर्णाली प्रदेशकी एक छात्राले महिनावारीका बेला शौचालयको झ्यालबाट प्याड बाहिर फाल्नुपरेको र अरुले थाहा पाउलान कि भन्ने त्रासबाट गुज्रनुपरेको व्यथा पोखिन्।
यस्तो डरका कारण महिनावारीका बेला विद्यालय नगई घरमै बस्न मन लाग्ने उनले सुनाइन्।
‘यस्ता समस्या र विद्यालयमा हुने दुव्र्यहारका कुरा गुनासो पेटिकामार्फत राख्दा संवाद भयो। र विद्यालयबाट समस्या समाधानका लागि सकारात्मक पहल भयो ’ उनले भनिन्।
अहिले उनलाई आवाजको मूल्य हुँदो रहेछ भन्ने महसुस भएको छ। उनले भनिन्, ‘विद्यलायमा चेन्जिङ्ग रुम नै बन्यो। आवाजको मूल्य हुँदो रहेछ भन्ने थाहा भयो। विद्यार्थीको आवाज सुनिए विद्यालयमा बालिका सुरक्षित हुन्छन्। र सिकाइको वातावरण बन्छ। ’
किशोरीहरुले आफ्ना कथामार्फत किताबी ज्ञानसँगै बालिकाहरुलाई आफ्नो समस्या र प्रश्न राख्ने सीप ,नेतृत्व विकास र आयआर्जन गर्ने सीप र अवसर दिनुपर्नेमा जोड दिएका थिए। त्यस्तै बालिकाका समस्या फरक खालका हुन सक्छन् र यसका लागि आवश्यकताअनुसार कार्यक्रम ल्याइनुपर्छ भन्ने सन्देश दिएका थिए।
विद्यालय शिक्षामा बालिकाको सहभागिता उल्लेख्य रुपले बढेको छ। भर्नाका हिसाबले लैिङ्गक समानता कायम भए पनि छात्राले बीचमै पढाइ छाड्ने गरेका छन्। एक तथ्यांकअनुसार तीन किशोरीमध्ये एक जनाले मात्र कक्षा १२ सम्मको शिक्षा पूरा गर्छिन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल शिक्षामा बालिकाको पहुँचको सवालमा समानता भएपनि गर्नुपर्ने काम बाँकी रहेको स्वीकार्छन्।
मधेस र कर्णालीका बालिकाहरुको कथा आफैँ सुनेपछि उनले भने,‘ मधेश प्रदेशमा धेरै बालिका विद्यालय बाहिर छन्। त्यस्तै कर्णाली र सुदूर पश्चिममा पनि सन्तोषजनक अवस्था छैन। बालिका शिक्षा सुधारका लागि तीन तहका सरकारबीच समन्वय र गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने छौँ। ’
Shares

प्रतिक्रिया