राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन (बर्खा) अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंशजस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन सुझाव दिएको छ।
प्राधिकरणले जनधन सुरक्षाका लागि १६ बुँदे सावधानी सूचना जारी गरेको हो।
जसमा यो मनसुनका बेला यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनिएको छ।
यस्तै वर्षाका बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन सुझाव दिइएको छ।
ठुलो वर्षा भएका बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सल्लाह दिएको छ।
वर्षा भइरहेको समयमा काठ-दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा, भिडिओ नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को संकेत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ।
यसैगरी आफ्नो घरवरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घरवरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्न सल्लाह दिइएको छ।
चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामा भनेको छ।
अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारे आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ।
विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न भनिएको छ।
यस वर्ष मनसुन गत असार ५ गते भित्रिएको थियो।
हेर्नुहोस् सूचना

Shares

प्रतिक्रिया