समाज


यूएईमा रहेका प्रेमीलाई बोलाएर पति र सासुको हत्या

काठमाडौँ आएको ३ दिनमै धर्मेन्द्रले प्रेमिकाका पति र सासुलाई मारेको प्रहरीको निष्कर्ष
यूएईमा रहेका प्रेमीलाई बोलाएर पति र सासुको हत्या

नेपालखबर
माघ १७, २०८२ शनिबार १७:३१, काठमाडौँ

तीन दिनअघि बाराको परवानीपुरमा दुई जनाको हत्या र तीन जना घाइते भएको घटनामा विवाहेत्तर सम्बन्ध कारक रहेको निष्कर्षमा प्रहरी पुगेको छ। 

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतक परिवारकै महिला (मृतक युवककी पत्नी) र परपुरुषलाई पक्राउ गरेको छ। 

यही माघ १४ गते राति परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा धारिलो हतियार प्रहार गरेर ४६ वर्षीया सुमित्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्या भएको थियो। 

घटनामा मृतक महिलाका पति ५० वर्षीय जगरूप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी घाइते भएका थिए। 

उनीहरूको हत्यामामा मृतक राम ईश्वरकी पत्नी २३ वर्षीया मनिता देवी मण्डल र उनका परपुरुष साथी बाराकै प्रसौनी गाउँपालिका-७ बन्जरिया निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

मनिता र महतोलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। 

घटनामा मनिता पनि सामान्य घाइते भएकी थिइन्। घटना अनुसन्धानको क्रममा मनिताकै योजनामा घटना घटेको निष्कर्षमा प्रहरी पुगेको हो।

‘हामीले मनितालाई अस्पतालमा उपचार पश्चात नियन्त्रणमा लिएका छाैँ,’ डीएसपी पण्डितले नेपालखबरसँग भने, ‘महतोलाई घटनापछि भारततर्फ भाग्दै गरेको अवस्थामा बाराकै विश्रामपुर गाउँपालिका-४ बाट पक्राउ गरेका हौँ।’

उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मनिता र महतो विवाहेत्तर सम्बन्धमा थिए। त्यसबाट उत्पन्न घरायसी विवाद बढ्दै जाँदा हत्यासम्म पुगेको हो। 

घटना विवरण अनुसार धर्मेन्द्र महतो वैदेशिक रोजगारीको लागि यूएई गएका थिए। उनी मनिताकै योजनाअनुसार घटना हुनुभन्दा दुई दिनअघि मात्र नेपाल आएको खुलेको छ। 

यही माघ ११ गते यूएईबाट काठमाडाैँ आएका महतोले आफ्ना घर परिवारका सदस्यलाईसमेत आफू नेपाल आएको जानकारी गराएका थिएनन्। काठमाडौँ आएपछि उनी सरासर बाराको परबानीपुर पुगेर मनितासँग सम्पर्क गरेका थिए।

उनीहरू दुईबीचको योजनाअनुसार माघ १४ गते राति २ बजेतिर महतो चक्कु लिएर पूर्वयोजना कार्यान्वयनका लागि घटनास्थलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

पतिसँगै सुतेकी मनिता भने घटनामा सामान्य घाइते मात्रै भएपछि प्रहरीले उनैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। 

चक्कु प्रहारबाट जगरूक गम्भीर घाइते भएका छन्। उनको हाल एसएल न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मनिता राति शौचालय निस्कँदा उनीसँगै सासु सुमित्रा पनि निस्किएकी थिइन्।  सुमित्राको घरबाहिर नै हत्या भएको थियो।

शौचालयको छेउमै उनको शव भेटिएको थियो। रामेश्वरको शव भने घरको प्यासेजमा भेटिएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यको राति हत्या भएपछि एक बालकले बिहान छिमेकीलाई जानकारी गराएका थिए। त्यसपछि मात्रै गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरेको थियो। यस घटनामा थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad