समाज


एउटै बेडमा सुतेका पतिको हत्या हुँदा पत्नी सकुशल, प्रहरीले उनैलाई पक्राउ गरेर थाल्यो अनुसन्धान

एउटै बेडमा सुतेका पतिको हत्या हुँदा पत्नी सकुशल, प्रहरीले उनैलाई पक्राउ गरेर थाल्यो अनुसन्धान

नेपालखबर
माघ १४, २०८२ बुधबार ९:७, काठमाडौँ

बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नीलाई पक्राउ गरेको छ। 

परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

धारिलो हतियारले आक्रमण हुँदा मृतक महिलाका पति ५० वर्षीय जगरुप मण्डल र छोरी २८ वर्षीया मनितादेवी घाइते भएका छन्। घाइतेमध्ये जगरुपको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।  

‘घटना अनुसन्धानको लागि हामीले परिवारकै सदस्य (मृतक रामेश्वर मण्डलकी पत्नी)लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ एसपी कुँवरले नेपालखबरसँग भने, ‘गाउँलेहरुले घटनामा बुहारीप्रति शंका गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो।’

हाल घटनास्थलमै रहेका परवानीपुर १ का वडाध्यक्ष चौपट महतोले घटनामा बुहारीको संलग्नता हुनसक्ने आशंका छिमेकीहरुले गरेको बताए। 

‘एउटै बेडमा सुतेका पतिपत्नीमध्ये पतिको हत्या हुँदा बुहारीलाई केही पनि भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘घटना हुँदा बुहारीले कुनै हल्लाखल्ला पनि नगरेको गाउँलेले बताएका छन्। यसले पनि उनीप्रति प्रहरी र गाउँलेले शंका गरेका हुन्।’ 

घाइते बाबु र छोरीको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले नियन्त्रणमा लिएकी महिला (घरकी बुहारी)को माइतीघर प्रसौनी गाउँपालिको बन्जरिया हो। उनका १० र ५ वर्षका दुई छोरी छन्। उनीहरु पनि सकुशल छन्। 

गएराति करिब एक बजे घटना भएको प्रहरीले जनाएको छ। 

मध्यराति सबै सुतिरहेको बेला पुगेका अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेका हुन्। आक्रमणकारीको पहिचानको प्रयास भइरहेको एसपी कुँवरले बताए। 

‘शवको मुचुल्का सकियो। तर, अहिले पनि शव घटनास्थलमै छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी हुँदैछ। थप अनुसन्धानमा हामी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad