आज (सोमबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (आइतबार) को तुलनामा थोरै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस देखिएको हो। आइतबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो।
तर पछि बिहान ८:४५ बजे घटेर आइतबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
यसैबीच आइतबार दिउँसो जुम्लाभन्दा काठमाडौँ उपत्यका चिसो थियो।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आइतबार जुम्लामा अधिकतम तापक्रम १७.१ डिग्री हुँदा काठमाडौँमा यसभन्दा कम १५.७ डिग्री सेल्सियस छ।
तर न्यूनतम तापक्रम आइतबार जुम्लामा काठमाडौँमा भन्दा धेरै कम माइनस ७ दशमलव ९ अर्थात् -७.९ डिग्री सेल्सियस छ। काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोको अवस्था देखाउँछ भने अधिकतम तापक्रमले दिनभरको चिसोको अवस्था जनाउँछ।
अत: शनिबार राति र आइतबार बिहान काठमाडौँमा भन्दा जुम्लामा कता हो कता चिसो भए पनि आइतबार दिउँसो भने जुम्लाभन्दा काठमाडौँ बढी चिसो भएको हो।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।
यसको ठिक उल्टो दिनमा चाहिँ आकाशमा बादल रह्यो भने घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घट्छ अर्थात् चिसो बढ्छ भने दिनभर आकाश सफा रह्यो भने घाम देखिने भएकाले अधिकतम तापक्रम बढ्छ अर्थात् चिसो कम हुन्छ।
हेर्नुहोस् आइतबारको तापक्रम सूची

Shares

प्रतिक्रिया