समाज


पोखरा सहकारी ठगी प्रकरणमा अनुसन्धान तीव्र, पीडितलाई मंसिर २ गते भित्र जाहेरी दिन आग्रह

पोखरा सहकारी ठगी प्रकरणमा अनुसन्धान तीव्र, पीडितलाई मंसिर २ गते भित्र जाहेरी दिन आग्रह

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १९:१०, पोखरा

कास्की जिल्ला प्रहरी कार्यालयले पोखराको नयाँबजारमा सञ्चालित श्री पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडसम्बन्धी ठगी प्रकरणमा अनुसन्धान अघि बढाएको छ।

सहकारीका तत्कालीन व्यवस्थापक र विभिन्न कालखण्डमा रहेका सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको रकम फिर्ता नगरी हिनामिना तथा ठगी गरेको प्रारम्भिक तथ्य भेटिएपछि सहकारी ऐन २०७४ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट प्राप्त पत्र र कागजातका आधारमा मुद्दा दर्ता भइसकेको र केही जिम्मेवार पदाधिकारी तथा कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त सहकारीमा रकम जम्मा गरी बचत तथा सेयर रकम फिर्ता नपाएका पीडित बचतकर्ताहरूलाई नागरिकता, सेयरधनी प्रमाणपत्र, पासबुक, भौँचर, स्टेटमेन्ट वा मुद्दती प्रमाणपत्रसहित आवश्यक प्रमाण लिएर जाहेरी दिन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मुद्दाको हदम्यादलाई मध्यनजर गर्दै मंसिर २ गते भित्रमा जाहेरी दर्ता गर्न पीडितहरूलाई अनुरोध गरेको छ।

त्यस्तै, सहकारीबाट ऋण लिएर भुक्तानी नगरी अपचलन गरेका ऋणीहरूलाई समेत मुद्दाको प्रतिवादी बनाईने उल्लेख गर्दै प्रहरीले उनीहरूलाई आफ्नो आर्थिक व्यवहार कानूनी रूपमा मिलाउन आग्रह गरेको छ।

प्रहरीले बुधबार सहकारी संस्थाका अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको थियो।

सहकारीका वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, सुपरमाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसादलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad