खेल


यसपछि शरदले खेल्ने छैनन् राष्ट्रिय जर्सीमा

हङकङ सिक्सेससँगै २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट विश्राम
यसपछि शरदले खेल्ने छैनन् राष्ट्रिय जर्सीमा

लक्ष्मी जि.सी
कात्तिक २१, २०८२ शुक्रबार ७:१, काठमाडौँ

नेपाली क्रिकेटको उन्नयनमा शरद भेषावकरले दुई दशक लामो समय खर्चिएका छन्। 

उमेर समूहदेखि नै नेपाली टोलीको प्रतिनिधित्व गरेका उनी झण्डै चार वर्षयता भने राष्ट्रिय टोलीबाट टाढा छन्। 

उनै शरदलाई आज फेरि राष्ट्रिय जर्सीमा हङकङको मोङककमा देख्न पाइनेछ। 

शुक्रबार सुरु हुनलागेको हङकङ इन्टरनेशनल सिक्सेज २०२५ मा नेपालको कप्तानी उनैले पाएका छन्। मैदानमा नेपालले

अफगानिस्तानविरुद्ध खेल्दै प्रतिस्पर्धा सुरु गर्दा नेपालीको ध्यान भने शरदले खिचेका छन्। 

किन कि राष्ट्रिय जर्सीमा यो उनको अन्तिम प्रतियोगिता हो। हङकङ सिक्सेजसँगै शरद औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदै छन्। 

उनको अन्तिम खेललाई स्मरणीय बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले शरदको कप्तानीमा हङकङ सिक्सेजका लागि टोली घोषणा गरेको हो। 

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै शरदले ओडीआईमा डेब्यु गरेका थिए। उनले जम्मा ४ ओडीआई खेल मात्र खेलेका छन्। पछिल्लो पटक उनले सन् २०२१ मा ओमानविरुद्ध खेलेका थिए। 

नेपाली टोलीका अनुभवी खेलाडी शरदले टी–२०आईतर्फ २० खेल खेलेका छन्। सन् २०१४ मा हङकङविरुद्ध खेल्दै उनले टी–२०आईमा डेब्यु गरेका थिए। पछिल्लो पटक उनले आयरल्यान्डविरुद्ध सन् २०२२ मा खेलेका थिए। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा शरदले फिनिसरको भूमिका निभाएका थिए। 

सन् १९९६ को विश्वकप हेरेपछि शरदको लगाव क्रिकेटप्रति बढेको थियो। क्रिकेट लभरको रुपमा खेल्न थालेका उनले सन् १९९८ मा पहिलो पटक नेपालका लागि खेलेका थिए।

लामो समय क्रिकेटमा बिताएका उनी अझै पनि बल र ब्याटसँग नै रमाउँछन्। सन् २००२ मा यू–१५ मा पहिलो पटक नेपाली टोलीमा परे। त्यसअघि पनि नेपालको उमेर समूहको छनोट प्रतियोगितामा परे पनि टोलीमा स्थान बनाउन नसक्दा शरदलाई एक समय लागेको थियो– अब पढाइतिर नै लाग्नुपर्छ। 

तर लगातार छनोट चरणबाट नै बाहिरिएको देखेका शरदलाई एकपटक नेपालका लागि खेल्न पाए हुन्थ्यो भन्ने चाहनाले पछ्याइरहेको थियो। 

टेलिभिजनमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको ब्याटिङ सट हेर्दै उनले आफूलाई त्यसमा अभ्यस्त बनाइरहेका थिए। विस्तारै आफूलाई अब्बल साबित गर्न लागे। 

संयुक्त अरब एमिरेन्ट्स (यूएई) मा जन्मिएका शरदले कक्षा ४ सम्मको पढाइ त्यहीँ गरे। यूएईमा हुँदा पनि शरद क्रिकेट खेल्थे। नेपाल आएपछि शरदलाई नेपाली भाषा बोल्न, पढ्न र सिक्न गाह्रो भयो। तर विस्तारै यहाँको वातावरणमा घुलमिल भए। 

उनले नागरिकताकै लागि समेत संघर्ष गर्नुपरेको थियो। यसका बाबजुद आफूलाई नेपाली क्रिकेटबाट टाढा राख्नेबारे कहिल्यै सोचेनन्। त्यसैले दुई दशकभन्दा बढी समय नेपाली क्रिकेटलाई दिए। 

घरेलु क्रिकेटमा सफल कप्तानको रुपमा आफूलाई उभ्याउन सफल भएका उनले थुप्रै उपाधि उचालिसकेका छन्। राष्ट्रिय टोलीबाट बाहिरिए पनि शरद घरेलु क्रिकेटमा भने मैदानमै छन्। मैदानमा बल र ब्याटबाट केही टाढा भए पनि पछिल्लो समय उनी कमेन्टेटरको भूमिकामा व्यस्त छन्। 

नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा अनसोल्ड भएका शरदलाई क्यानले हङकङ सिक्सेजमार्फत विदाइका लागि वातावरण तयार पारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad