समाज


नेपाल प्रहरीका ५ डीआईजी बढुवा तिहारलगत्तै

अख्तियारसहित यी कार्यालय डीआईजीविहीन
नेपाल प्रहरीका ५ डीआईजी बढुवा तिहारलगत्तै

उजिर कार्की
कात्तिक ३, २०८२ सोमबार १९:५, काठमाडौँ

नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा तिहार लगतै हुने भएको छ। हाल चार जना डीआईजी रिक्त रहे पनि कात्तिक १२ गतेदेखि अर्को पनि दरबन्दी रिक्त हुँदैछ। त्यसपछि एकसाथ ५ जना डीआईजी बढुवा गर्ने सरकारको तयारी छ। 

अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी सञ्जिव शर्मा दास १२ गतेदेखि अनिवार्य अवकाश हुनेछन्। दरबन्दी रिक्त हुनु एकसाता पहिले नै बढुवाका लागि सिफारिस गर्न सक्ने व्यवस्था छ। सिफारिस गरेको एकसातापछि मात्रै गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नेछन्। 

यसअघि चार डीआईजी एआईजीमा बढुवा भएका थिए। 

प्रशासन विभागका डीआईजी सुशील सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका थिए। त्यसपछि सरकारले दुई प्रदेशमा डीआईजी खटाइसकेको छ। मधेसमा गोबिन्द थपलिया र सुदूरपश्चिममा ओमबहादुर राना सरुवा भइसकेका छन्। 

अब बढुवा हुने डीआईजीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी महानिरीक्षकको सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन हुनेछन्। 

यसअघि २०८२ जेठ ६ गते ११ जना डीआईजीलाई बढुवा गरिएको थियो। यो टोलीबाट शारदाप्रसाद चौधरी छुटेका थिए। १२ जना रहेकामा चौधरीलाई छुटाएर अरुलाई बढुवा गरिएको थियो। यसपटक चौधरी बढुवा हुने सम्भावना छ।

बढुवामा ०८० को टोली
२०८० सालमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएको टोलीबाट चार जना यसपटक डीआईजीमा बढुवा हुनेछन्। आफ्नो टोलीबाट पहिलो पटक डीआईजी बन्ने र भावी नेतृत्वसम्मै अर्थ राख्ने भएकाले पनि यो टोलीमा चर्को प्रतिस्पर्धा छ। यो टोलीबाट विश्व अधिकारी, भूपेन्द्र खत्री, सोमेन्द्र सिंह राठौर र सानुराम भट्टराई बढुवाको कसरतमा छन्। 

२०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा विश्व अधिकारी थिए। जेनजी आन्दोलनमा काठमाडौँ प्रहरी प्रमुख रहेका उनलाई सरकारले हेडक्वाटर फिर्ता गरेर एसएसपी रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। 

उनी २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएर २०५६ मा प्रहरी निरीक्षकमा नाम निकालेका थिए। त्यसपछि टोलीसँगै डीएसपीदेखि एसएसपीसम्म बढुवा हुँदै आएका छन्।

अधिकारी र चौधरी डीआईजीमा बढुवा भए २०५६ असार ३ गते भर्ना भएको टोलीबाट यसपटक तीन जना डीआईजी बन्नेछन्। 

यो टोलीबाट भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई र सोमेन्द्र सिंह राठौर, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले पनि डीआईजीका लागि लबिइङमा छन्। एसएसपी वरीयतामा पछाडि रहे पनि यही टोलीकी तारादेवी थापा डीआईजी बन्ने कसरतमा छिन्। 

यस्तै २०८० मंसिर ४ गते एसएसपी भएका मुकुन्द मरासिनी, दीपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, प्रज्ज्वल महर्जन र रमेशकुमार बस्नेत पनि यही टोलीका हुन्। उनीहरू डीआईजीका प्रतिस्पर्धी भएपनि यसैपटक बढुवा हुने सम्भावना कम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad