‘यो कस्तो विषय पढेको?’
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले पहिलोपटक मानसिक विषयमा स्नातकोत्तर तह (एमडी) पढाउँदा छनोट भएका डा सरोज वझानथाक्षेंलाई धेरैले मुख खुम्च्याउँदै भन्ने गर्थे।
हाडजोर्नी विषयको विषयको पढाइ एक महिनामै छाडेर पाकिस्तानबाट फर्केका उनले मानसिक स्वास्थ्य विषय छनोट गर्दा परिवारको पनि साथ पाएनन्। आईओएमबाट एमबीबीएस पूरा गरी मानसिक रोग विषय पढ्ने निर्णय गरेका उनै प्रा डा वझानथाक्षेंले हालसम्म १ लाखभन्दा बढी मानसिक समस्या भएका व्यक्तिको उपचार गरिसकेका छन्।
मेडिकल अफिसर भएर दैनिक बिरामीको सेवामा लागेका उनलाई पनि सुरुमा मानसिक रोग विषय छनोट गरेर गल्ती गरेजस्तो लाग्न थालेको थियो। अरुले ‘के पढेको’ भन्दा ‘मानसिक रोग’ भनेर जवाफ दिँदा अरुको मुखमा अमिलोपन देख्थे।
चिकित्सक साथीले नै भन्ने गर्थे, ‘तँ आफैँ त ठिक छस्? फेरि आफ्नै दिमाग जँचाउनुपर्ला नि?’
तर, त्यसको करिब १५ वर्षपछि तिनै साथी आफनी छोरीलाई ‘डिप्रेसन’ भएको भन्दै उनकोमै उपचारका लागि पुगेका थिए।
विसं २०१९ मा बागलुङमा जन्मिएमा डा वझानथाक्षें पढाइमा निकै तेज थिए। चिकित्सक बन्ने भन्दै उनी काठमाडौँ आएका थिए। २०४९ सालमा आईओएमबाट एमबीबीएस उत्तीर्ण गरे। एमडी, एमएस कार्यक्रम धेरै कलेजमा सुरु भएको थिएन। उनका साथीभाइ एमडी गर्न विदेश जान थालेका थिए। त्यसबेला एमबीबीएस उत्तीर्ण गरेपछि त्रिवि शिक्षण अस्पतालको मेडिकल अफिसर भएर आकस्मिक विभाग र हाडजोर्नी विभागमा तीन वर्ष काम गरे।
हाडजोर्नी विभागमा काम गरेकाले सोही विषयमा स्नातकोत्तर (एमडी) गर्न पाकिस्तानको कराँची गए। कराँची पुगेको १ महिनापछि यो विषय आफ्नो लागि होइन भन्दै नेपाल फर्किए। नेपालमा जे विषय पाउँछु, त्यही पढ्छु भन्दै नेपाल आए।
एमबीबीएस सकेको ७ वर्षपछि २०५४ सालमा त्रिवि शिक्षण अस्पतालमा मानसिक विभाग स्थापना भएको थियो। विभाग स्थापनापछि आईओएमले मानसिक विषय पढाउन महाराजगन्ज मेडिकल कलेजलाई स्वीकृति दियो। महारानगन्ज क्याम्पसले एक सिट पायो।
‘सो समय मानसिक रोगलाई हेर्ने दृष्टिकोण राम्रो थिएन, मेरो मनमा पनि धेरै द्विविधा भएको थियो। के यो मेरा लागि सही क्षेत्र हो? के म वास्तवमै यो क्षेत्रमा परिवर्तन ल्याउन सक्छु?’ उनी भन्छन्, ‘परिवारको पनि सहयोग थिएन। जसका कारण मलाई निर्णय लिन गाह्रो भएको थियो।’
कसैको साथ नभएको सो समयमा मानसिक विभागमा कार्यरत मनोचिकित्सक डा शिशिरकुमार रेग्मीले धेरै सहयोग गरेको बताउँछन् उनी।
‘उहाँले काम गर्दाको आफनो अनुभव सुनाउँदै यो विषयको महत्व बुझाएपछि मानसिक विषय पढ्ने निर्णय गरे। २०५६ सालमा नेपालमा नै प्रशिक्षित पहिलो मनोचिकित्सक बनेर निस्किएँ,’ उनले सुनाए, ‘म पढ्नुअघि विदेशमा गएर मानसिक रोग विषय पढेर आउनु भएको थियो, त्रिविमा सुरु भएपछि म नेपालमा नै उत्पादन भएको पहिलो मनोचिकित्सक हुँ।’
अहिले सबै विश्वविद्यालयमा पढाइ हुन थालेको र मानसिक रोग विषयप्रतिको बुझाइ पनि फराकिलो हुँदै गएकोमा उनी निकै खुसी छन्।

टिचिङ अस्पताल, अर्थात् अर्को घर
हरेक बिहान ९ बजे हतारिँदै ओपीडी कक्षमा पुग्ने, बिरामीको समस्या सुन्ने र समाधान गर्न तल्लीन हुने उनको दैनिकी थियो। एमबीबीएस अध्ययन गर्दै गर्दा विवाह गरेका उनले घरमा भन्दा धेरै समय अस्पतालमा बिताएका छन्।
२०४९ सालमा एमबीबीएस अध्ययन गर्न त्रिवि शिक्षण अस्पताल प्रवेश गरेका उनै प्रा डा वझानथाक्षेंले एक महिनाअघि मात्र उमेरका कारण अवकाश पाएका छन्। २५ वर्ष मानसिक रोग विशेषज्ञ भएर अस्पतालमा बिताएका उनको दैनिकी अवकाश पाएपछि फेरिएको छ।
‘मलाई म बनाएको नै त्रिवि शिक्षण अस्पतालले नै हो। मानसिक स्वास्थ्यका क्षेत्रमा जति पनि गर्न सकेँ, त्यो सबै अस्पतालकै कारणले हो। अहिले पनि त्यहाँ साथी, बिरामी भेट्न जान्छु,’ उनी खुसी हुँदै सुनाउँछन्।
यसैका लागि विदेश जाने मौका पनि छाडेको उनको भनाइ छ।
‘सन् २००४ तिर मनोचिकित्सकको रुपमा अस्ट्रेलिया जाने अवसर पाएको थिएँ। तर, नेपालमा नै बसेर मानसिक रोगबारे जनचेतना फैलाउनु पर्छ भन्ने सोचका कारण मलाई विदेश जाने मोह नै भएन। त्यो अवसर त्यागेर नेपालमा केही गर्छु भन्दै बसेँ,’ उनले भने।
त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक, विभागीय प्रमुखदेखि, चिकित्सकशास्त्र अध्ययन संस्थान आईओएमका सहायक डिनको रुपमा पनि उनले काम गरे। २५ वर्षमा उनले धेरै चिकित्सक उत्पादनमा सघाए।
अस्पतालबाट १ लाखभन्दा बढी कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको समस्या समाधान गरेको उनी बताउँछन्। नेपाल सरकार र अन्य संस्थासँग मिलेर उनले लागू पदार्थ दुर्व्यसन अन्त्यका लागि पनि काम गरेका छन्।
थरीथरीका समस्याको उपचार
कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरी परीक्षामा बेहोस हुने समस्या देखिएको भन्दै उनकोमा उपचारका लागि पुगिन्। धेरै स्थानमा उपचार गर्दा निको नभएपछि डा वझानथाक्षेंलाई देखाउन लगेका थिए परिवारले। परीक्षालाई लिएर बढेको डरका कारण किशोरी पटकपटक बेहोस हुने गरेको उनले पत्ता लगाएका थिए।
सात वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी एक युवतीले ओसीडीको लक्षणका कारण श्रीमानसँग सम्बन्धविच्छेद गरिन्। नेपाल आएर माइतमा बस्दै आएकी उनी केही समयपछि उनकोमा उपचारका लागि पुगिन्।
‘ओसीडीको लक्षण सुरुमा नै पहिचान भएर उपचार गरिएको भए सायद उहाँको सम्बन्धविच्छेद हुन पाउँथेन। उहाँमा देखिएको समस्या त निको गराउन सकेँ, सम्बन्ध नजोगिएकोमा दुःख लाग्यो,’ डा वझानथाक्षें सुनाउँछन्।
कोरोनापछि धेरै व्यक्तिमा मानसिक समस्या देखिएको भन्दै उनले केही व्यक्तिको रोग पत्ता नलाग्दा धेरै खर्च भएको सुनाउँछन्।
कोभिडका कारण व्यवसायमा घाटा भएपछि एक बिरामीलाई टाउको दुख्ने, निद्रा नलाग्ने, शरीरका विभिन्न अङ्ग पोल्ने समस्या देखिएछ।
‘नेपालदेखि भारतसम्म उपचारमा जाँदा रोग पत्ता नलागेर अन्तिममा मकहाँ आउनु भएको थियो। अहिले निको भएर स्वस्थ जीवन बिताइरहनु भएको छ,’ उनले भने।
केही व्यक्तिले सार्वजनिक कार्यक्रममै खुलेर आफूलाई निको बनाएकोमा धन्यवाद भन्दा निकै खुसी लाग्ने बताउँछन्।
‘मानसिक स्वास्थ्यका बारेमा धेरै व्यक्ति खुलेर आउन थाल्नु भएकोमा मलाई निकै खुसी लाग्छ,’ उनी भन्छन्, ‘औषधि र परार्मशबाट निको भएकाहरू छन्। मानसिक रोग भनेको ठूलो होइन, उपचार गर्यो भने निको हुन्छ भन्दै जनचेतना फैलाउन थालेका छन्। विद्यालयहरूमा पुगेर तनाव व्यवस्थापन गर्ने बारे पनि जनचेतना फैलाएका छन्। शिक्षक र चिकित्सकहरूलाई समेत पनि जनचेतना फैलाएका छन्।’
कुनै बेला किन पढेँ भन्ने सोच्न बाध्य भएका उनी अहिले एमडीमा मानसिक विषय छनोट गरेर जीवनकै राम्रो निर्णय गरेको सुनाउँछन्। मानसिक स्वास्थ्य क्षेत्रमा आफ्नो २५ वर्षे यात्रा र अनुभव समेत समेटेर उनले यसबारेमा जानकारी दिन हालै किताब प्रकाशनमा ल्याएका छन्।
अबको योजना
त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाए पनि मानसिक स्वास्थ्यको विषयमा जनचेतना फैलाउने, अन्तर्क्रिया गर्ने, तनाव व्यवस्थापन गर्ने तरिकाबारे सिकाउने योजना बनाएका छन् उनले।
‘मानसिक रुपमा स्वस्थ नभई आत्मसन्तुष्टि हुँदैन। समस्या भए उपचारको पहुँचमा जानु पर्छ। अब यसमै निरन्तर लाग्छु,’ उनी भन्छन्, ‘अहिले घरघरमा मानसिक रोगी छन्। किशोर अवस्थादेखि देखिन थालेको मानसिक समस्या वृद्ध अवस्थासम्म देखिन थालेको छ। यसको निवारणको प्रमुख उपाय नै जनचेतना नै हो। अब विद्यालयदेखि कार्यालयसम्म जनचेतना फैलाउनु मेरो उदेश्य हो।’
नेपालमा मानसिक स्वास्थ्यबारे व्यक्ति आफै सचेत हुन थालेको भन्दै उनी मानसिक स्वास्थ्यबारे व्यक्ति खुलेर आउनुलाई ठूलो सफलता ठान्छन्।
Shares

प्रतिक्रिया