क्यान्सर रोग पहिचान गर्न आवश्यक रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने निर्णय कार्यान्वयन भए क्यान्सर उपचार सस्तो पर्ने चिकित्सकहरुले बताएका छन्।
शिक्षामन्त्री महावीर पुनले बिहीबार नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटप्स) औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय भएको जनाएका थिए।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विवेक आचार्यले रेडियोधर्मी औषधि (आइसोटोप) नेपालमा उत्पादन भए क्यान्सरको उपचार सस्तो हुने जनाए। उनले रेडियोधर्मी औषधिले क्यान्सर हो कि होइन भनेर सहजै पहिचान हुने जानकारी दिए।
‘क्यान्सर हो कि होइन, पत्ता लगाउन गरिने पेट स्क्यानमा प्रयोग हुने औषधि बनाउन ‘साइक्लोट्रोन’ नामक प्रविधि अहिले हामीलाई निकै आवश्यक छ। यो प्रविधिले क्यान्सर सजिलै पत्ता लगाउन सक्छ। साइक्लोट्रोन ल्याउन सके क्यान्सरका बिरामीलाई निकै राहत हुन्छ,’ उनले भने।
पेट स्क्यान गर्दा प्रयोग हुने औषधि नहुँदा भारतबाट निकै महँगो मूल्यमा किनेर ल्याउनु परेको भन्दै उनले औषधि बनाउनेबित्तिकै प्रयोग गर्नुपर्ने बताउँछन्।
‘औषधि जति छिटो प्रयोग गर्न सकियो, त्यति नै सस्तो पर्छ। भारतबाट बनाएर नेपाल ल्याउँदा धेरै समय लाग्छ। जसका कारण बिरामीलाई महँगो पर्छ,’ उनी भन्छन्, ‘औषधि बनाएको एक घण्टा बित्नेबित्तिकै त्यसको प्रभाव कम हुँदै जान्छ, एक घण्टापछि एक डोज थप्नु पर्छ।’
एक डोजले पुग्ने औषधि तीनचार डोज चाहिने गरेको डा आचार्यको भनाइ छ। नेपालमा उत्पादन गर्न सके एक डोजले नै बिरामीलाई काम गर्ने र सस्तो पर्ने उनले जानकारी दिए।
भारतबाट औषधि ल्याउनु पर्दा भारतमा सस्तोमा हुने पेट स्क्यान गर्न नेपालमा ७५ हजारसम्म खर्च लाग्छ। औषधि ढिलो आइपुग्ने हुँदा धेरै डोज प्रयोग गर्नुपर्ने हुनाले बिरामी मारमा पर्ने गरेको डा आचार्य बताउँछन्।
यो औषधि पटकपटक नेपालमा उत्पादन गर्ने बहस चले पनि कार्यान्वयन नभएको उनको सुनाए।
‘यो पटक शिक्षामन्त्रीले कार्यान्वयनमा लैजानु भयो भने क्यान्सरका बिरामीलाई निकै राहत हुने थियो,’ उनले भने।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले सबै क्यान्सर रोगीलाई औषधि आवश्यक नपर्ने भन्दै क्यान्सर हो कि होइन भन्ने पहिचान नै नभए मात्र यो प्रयोग गरिने बताए। नेपालमा पेट स्क्यान सेवा विस्तार हुन नसक्नुको प्रमुख कारण साइक्लोट्रोन प्रविधि नहुनु रहेको उनको भनाइ छ।
‘धेरै क्यान्सर बायप्सी गरेर पत्ता लाग्ने गरेको छ, तर कतिपय अवस्थामा क्यान्सर पत्ता लगाउन सकिँदैन त्यो अवस्थामा पेट स्क्यान गर्नुपर्छ। पेट स्क्यान गर्न साइक्लोट्रोन निकै आवश्यक पर्छ। यो औषधि हामीले आफै उत्पादन गर्न सक्यौँ भने पेट स्क्यान सेवा पनि विस्तार हुने थियो,’ डा शाही भन्छन्।
नेपालमा क्यान्सरका बिरामीहरूको संख्या हरेक वर्ष तीव्र रूपमा वृद्धि हुँदै गएको भन्दै उनले समयमै सही पहिचान र उपचारको प्रभाव मूल्याङ्कन गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए।
के हो ‘साइक्लोट्रोन’ प्रविधि?
क्यान्सर रोग विशेषज्ञ डा आर्चायका अनुसार शरीरमा क्यान्सर छ कि छैन, कुन ठाउँमा छ भन्ने पेट स्क्यानबाट सहजै पत्ता लाग्छ। त्यसैले पेट स्क्यान भरपर्दो प्रविधि हो। क्यान्सरको शंका लागेका व्यक्ति र आफूलाई क्यान्सर भए नभएको परीक्षण गरी ढुक्क हुन समेत पेट स्क्यान सेवा आवश्यक हुन्छ।
हालसम्म नेपालमा काठमाडौँ दुई निजी केन्द्र र झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल गरी तीन वटा निजी संस्थाले मात्रै पेट स्क्यान सेवा दिँदै आएका छन्। कुनै पनि सरकारी अस्पतालमा पेट स्क्यान सेवा छैन्।
उनका अनुसार पेट स्क्यानका लागि आवश्यक तत्व ‘आइसोटोप’ हो। आइसोटोप बनाउन साइक्लोट्रोन प्रविधि प्रयोग हुन्छ।
आइसोटोप भारतबाट ल्याएर पेट स्क्यान गर्दा धेरै महँगो र प्रभावकारित समेत कम भएको डा आचार्य बताउँछन्। ढिला आइपुग्ने हुँदा भारतका अस्पतालमा २० देखि २५ हजार भारुमा हुने परीक्षणका लागि नेपालमा ७५ हजारसम्म खर्च लाग्ने गरेको डा आचार्यले बताए।
उनका अनुसार साइक्लोट्रोन भनेको एक विशेष खालको मेसिन हो। यसले क्यान्सरको पहिचान गर्न गरिने पेट स्क्यानका लागि आवश्यक तत्व उत्पादन गर्छ। उत्पादन भएको आइसोटोप औषधि पेट स्क्यान मेसिनमा राखेपछि यदि शरीरको कुनै भागमा कोषका आसामान्य गतिविधि रहेछ भने त्यो मेसिनले देखाउँछ र क्यान्सर पहिचान हुन्छ।
‘कहिलेकाहीँ हामी नेपालमा पेट स्क्यान गर्दा क्यान्सर नदेखिएको तर भारतमा गएर परीक्षण गर्दा देखिएको भन्ने बिरामीले भन्नुहुन्छ। भारतमा बनेर औषधि ढिलो आइपुग्ने हुदा त्यसको प्रभाविकारिता कम हुँदा क्यान्सर नदेखिएको हो,’ उनले बताए।
त्यस्तै, क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘आइसोटोप’ नेपालमै उत्पादन भए यसको परीक्षण निकै सस्तो हुने भन्दै पेट स्क्यान मेसिन थप्न सकिने बताउँछन्।
‘नेपालमा पेट स्क्यान मेसिन नथपिनुको प्रमुख कारण पनि आइसोटोप औषधि उत्पादन नहुनु नै हो। यदि हामीले औषधि उत्पादन गर्न सक्यौँ भने, क्यान्सर रोग पहिचान र रोगथाममा निकै सहयोग पुग्छ,’ उनले भने।
के भन्छ निजी क्षेत्र?
औषधि उत्पादक कम्पनीहरुले रेडियोधर्मी औषधि उत्पादन गर्न निकै महँगो पर्ने भन्दै सरकारले आफै बनाउनुपर्ने बताउँछन्।
नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालले औषधि बनाउने मेसिन खरिददेखि बनाउन नै बढी लागत लाग्ने बताए।
‘सरकारले आफै बनाउन सक्यो भने मात्र हो, नत्र यो बनाउन महँगो पर्छ। जसका कारण हालसम्म यो औषधि नेपालमा उत्पादन भएको छैन,’ उनले भने।
कति क्यान्सरका बिरामीलाई औषधि प्रयोग हुन्छ भन्ने तथ्यांक सरकारले उपलब्ध गराए औषधि उत्पादन गर्न सकिने नत्र लागत बढी पर्ने हुँदा निजी क्षेत्र यसमा अग्रसर हुन नसक्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया