प्रदेश नम्बर ५ मा पहिलोपटक र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट (एन्टिबडी) पोजिटिभ आएको छ।
प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटका ७८ वर्षीय वृद्धको रगत आरडीटी विधिबाट जाँच्दा रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजिटिभ आएको यो पहिलो घटना हो।
बर्दघाट नगरपालिका-४ का ती ७८ वर्षीय व्यक्तिलाई परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिएका छन्।
उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको छ। आज दिउँसोसम्म उनको रिपोर्ट आउने जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले बताएका छन्।
उनी एक वर्षअगाडि अमेरिकाबाट फर्किएको व्यक्ति भएका स्थानीय बताएका छन्। छातीमा असहज महसुस भएपछि उनी चिसापानी अस्पताल पुगेका थिए। त्यस क्रममा कोरोना शंकाले र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको हो।
उनको परिवारका अन्य सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
यस्तै यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्यापिड रिपोर्ट पनि नेगेटिभ आएको थियो।
एन्टिबडी पोजिटिभ हुनुको अर्थ के हो?
अहिले नेपालमा कोरोनाको परीक्षण दुई विधिबाट भइरहेको छ। एउटा र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किटबाट अर्काे पीसीआर प्रविधिबाट।
आरडीटीबाट मानिसको रगतमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी शक्ति (एन्टिबडी) छ कि छैन भन्ने थाहा हुन्छ र यसको नजिता पनि १५-२० मिनेटमै आउँछ। तर पीसीआर विधिबाट गरिने जाँचले चाहिँ मानिसको स्वाबमा सीधै भाइरस छ कि छैन भनेर हेर्ने गरिन्छ। र, यसको नतिजा आउन भने ६ घण्टादेखि ७२ घण्टासम्म लाग्न सक्ने प्रयोगशाला विज्ञ बताउँछन्।
चिकित्सकका अनुसार कोरोना भाइरसको संक्रमण भएको १ हप्ताजति पछि त्यसविरुद्ध लड्न मानिसको शरीरमा एन्टिबडी अर्थात् प्रतिरोधी शक्ति उत्पन्न हुन्छ। तर त्यो २१ दिनभन्दा बढीसम्म अर्थात् शरीरमा भाइरस निष्क्रिय भइसक्दा पनि देखिन्छ।
त्यसकारण अझै कोरोना सक्रिय छ कि छैन अर्थात् उसले रोग सार्न सक्छ कि सक्दैन भनेर निर्क्याेल गर्न स्वाबको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। यो परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आयो भनेचाहिँ व्यक्ति संक्रमित नै रहेको ठहर्छ र उपचार गर्नुपर्ने हुन्छ। तर पीसीआर रिपोर्ट नेगेटिभ आयो भने व्यक्तिलाई पहिले कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिन्छ।

प्रतिक्रिया