५० वर्षको उमेरमा दुई पटक मिर्गौला प्रत्यारोपण। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले चार वर्षमै साथ छाड्यो। दोस्रोले १० वर्षमा।
त्यसपछि तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर उनी तंग्रिँदै छन्।
उनी हुन् नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी। भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गराउने पहिलो व्यक्ति हुन् उनी।
प्रत्यारोपणपछि उनको शरीरले मिर्गौला स्वीकार गरिसकेको छ। उनमा अन्य समस्या देखिएको छैन। अस्पतालले केही दिनमा उनलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको छ।
भदौ ९ गते उनले ‘पेयर्ड एक्स्चेन्ज’ मार्फत तेस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका हुन्। केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको हो। प्रत्यारोपणमा चिकित्सक, नर्स गरी ४० जनाको टोली सहभागी थियो।
प्रदेश सांसद चौधरी २०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए। दुई पटक मन्त्री भइसकेका चौधरीले पछिल्लो पटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।
आर्थिक लेनदेनमा मुछिएपछि उनले राजीनामा दिएका थिए।
उनको सन् २००९ मा ३३ वर्षको उमेरमा मिर्गौला फेल भएको थियो। त्यो समय उनी वीर अस्पताल पुगेका थिए। डा पुकारचन्द्र श्रेष्ठले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गरेका थिए।
‘वीर अस्पतालले भर्खर सुरु गराएका कारण उहाँलाई विश्वास लागेन होला, प्रत्यारोपण गराउन भारत जानु भएछ,’ श्रेष्ठले भने।
चार वर्षपछि दोस्रो पटक प्रत्यारोपण गराउन चौधरी सन् २०१४ मा भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे। केन्द्रले मिर्गौला प्रत्यारोपण सुरु गरिसकेको थियो। दोस्रो पटकको प्रत्यारोपणपछि मिर्गौलाले १० वर्ष काम गरेको थियो।
विभिन्न संक्रमण नभएको भए सो मिर्गौलाले थप केही वर्ष काम गर्न सक्ने सम्भावना रहेको डा श्रेष्ठ बताउँछन्।
‘उहाँमा कोरोना संक्रमण, निमोनिया, फंगल संक्रमण भएकाले १० वर्ष मात्र मिर्गौलाले काम गरेछ,’ उनी भन्छन्।
दोस्रो मिर्गौलाले पनि काम गर्न छाडेपछि चौधरी तेस्रो पटक प्रत्यारोपण गराउन भन्दै तीन महिनाअघि अस्पताल आए।
‘दोस्रो प्रत्यरोपण धेरै पटक गरे पनि तेस्रो प्रत्यारोपण हाम्रो टिमका लागि पनि नयाँ थियो,’ श्रेष्ठ भन्छन्, ‘बेलायतमा प्रत्यारोपण पढ्न जाँदा तेस्रो प्रत्यारोपण गरेको थिएँ, त्यो अनुभवका आधारण नेपालमा सुरु गराउन सफल भयौँ।’
चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको प्रत्यारोपण सुरु गराउन भने सहज नभएको उनको भनाइ छ।
‘प्रत्यारोपण आफैमा जोखिमयुक्त हुन्छ, झन् एकै व्यक्तिको शरीरमा तेस्रो पटकसम्म मिर्गौला प्रत्यारोपण हुँदा शरीरले अस्वीकार गर्ने सम्भावना उच्च हुन्छ,’ उनले सुनाए, तेस्रो प्रत्यारोपण चिकित्सकीय हिसाबले पनि जोखिमपूर्ण मानिन्छ।’
तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने भनिए पनि उनको रक्त समूह परिवारका सदस्यसँग मिलेको थिएन्।
त्यसपछि ‘पेयर्ड एक्स्चेन्ज’का लागि खोजी सुरु भयो। रक्त समूह नमिलेको अर्को व्यक्ति पनि मिर्गौला साटासाट गरेर प्रत्यारोपण गराउन सकिन्छ कि भनेर खोजी गरिरहेका थिए।
दुवैको मिर्गौला एक अर्काको श्रीमतीसँग मिल्ने भएपछि चिकित्सकले मिर्गौला साटासाट गरेर मिर्गौला प्रत्यारोपण गर्ने तयारी भयो।
४ जनाको एकै पटक शल्यक्रिया गराउन अस्पतालले ४० जनाको टिम तयार पार्यो। भदौ ९ गते चौधरीमा तेस्रो प्रत्यारोपण र अर्को व्यक्तिमा पहिलो प्रत्यारोपण गरियो। र, नेपालको चिकित्सा क्षेत्रमा दुर्लभ र जोखिमपूर्ण मानिएको प्रत्यारोपण सफल भयो।
नेपाल मिर्गौला प्रत्यारोपणमा सक्षम छ भन्ने देखिएको चिकित्सकहरूको भनाइ छ।
किन जोखिमयुक्त हुन्छ तेस्रो प्रत्यारोपण?
मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा रविकिरण गौतमका अनुसार मानिसको शरीरमा रहेका विकार र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो मिर्गाैला।
मानव शरीरमा दुईवटा मिर्गौला हुन्छ। मिर्गाैला पेटको पछाडि मेरुदण्डको दुवै छेउमा हुन्छ। बच्चा जन्मिँदा यसको आकार ५ सेन्टिमिटर हुन्छ भने वयस्क हुदा ९ देखि ११ सेन्टिमिटर लामो हुन्छ।
सिमीको गेडा आकारको मिर्गौला चारदेखि पाँच इन्च लामो हुन्छ। जसमा एउटा अति नै सानो नेफ्रोन नामक फिल्टर हुन्छ। यही फिल्टरले रगतमा भएको विकार र बढी मात्रामा भएको पानीलाई छानेर बाहिर पठाउने काम गर्छ।
डा गौतमका अनुसार मिर्गाैलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्छ।
‘यस प्रक्रियाबाट रगतमा भएका विकार हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन राख्छ। रगतबाट फोहोर र विषाक्त पदार्थ छान्ने काम गर्छ,’ उनले भने ‘रक्तचाप नियन्त्रण गर्ने हर्मोन निकाल्छ। स्वस्थ हड्डीहरू कायम राख्न भिटामिन डीलाई सक्रिय पार्छ। हर्माेन उत्पादनको काम पनि गर्छ।’
डा गौतमका अनुसार मिर्गौलाले काम गर्न छाडेपछि शरीरमा यी प्रक्रिया रोकिन्छन्।
प्रत्यारोपण गर्दा चिकित्सकले बिग्रिएको मिर्गौलालाई निकालेर फाल्दैनन्। प्रत्यारोपण गरेर राखिने नयाँ मिर्गौलालाई नयाँ ठाउँ बनाएर राखिन्छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई पेटको तल्लो भागमा राखिन्छ। पहिला मिर्गौला भएको स्थानमा राखिँदैन।
डा गौतमका अनुसार, शरीरमा भएको मिर्गाैलाले कुनै असर नगर्ने हो भने त्यो मिर्गौला निकालिँदैन।
‘मिर्गौला निकाल्नु पनि जोखिमयुक्त शल्यक्रिया नै हो, बिग्रिएको मिर्गौला शरीरभित्र राखेर नै नयाँ मिर्गौला प्रत्यारोपण गरिन्छ,’ उनी भन्छन्।
मिर्गौलामा पत्थरी छ, सुनिएको छ र नयाँ राखिने मिर्गौलालाई असर गर्छ भने पुरानो निकाल्नुपर्ने उनले सुनाए।
पटकपटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रिया गर्ने ठाउँको पनि अभाव हुने डा श्रेष्ठ बताउँछन्।
‘पहिले नै नयाँ ठाउँ खोजेर मिर्गौला राखिसकेको हुन्छ। तेस्रो प्रत्यारोपणका लागि नयाँ ठाउँ खोज्नु पर्छ,’ डा श्रेष्ठ भन्छन्, ‘नयाँ स्थान खोजेर राख्दा नसामा असर गर्ने, रगत बग्ने समस्या हुन्छ। मिर्गौला प्रत्यारोपणपछि शरीरको रोग प्रतिरोधात्मक शक्तिले नयाँ मिर्गौलालाई ‘रिजेक्ट’ गर्न थाल्छ। पहिलो प्रत्यारोपणपछि नै बढेको रोग प्रतिरोधात्मक शक्ति तेस्रो प्रत्यारोपण हुदा उत्कर्षमा नै पुग्छ। त्यसले गर्दा तेस्रो पटक प्रत्यारोपण गर्दा शरीरले तत्काल ‘रिजेक्ट’गर्ने सम्भावना उच्च हुन्छ।’
धेरै सोचविचार गरेर नेपालमा सुरुवात गराउन सफल भएकोमा खुसी लागेको डा श्रेष्ठ बताउँछन्।
‘अमेरिका, बेलायत जस्ता देशले वर्षको एक/दुई जनाको मात्र गर्छन्, त्यो प्रत्यारोपण हामीले पनि सुरु गराउन सक्यौँ। अब धेरै व्यक्तिलाई नयाँ जीवन दिन सक्छौँ,’ उनले भने।
यो अस्पतालले १३ वर्षमा १ हजार ५०२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। मिर्गौला साटासाट गरेर गरिने ‘पेयर्ड एक्स्चेन्ज’ ६० जोडीको गरेको डा श्रेष्ठ बताउँछन्।
विश्वमा सन् १९५४ देखि मिर्गौला प्रत्यारोपण सुरु भएको हो।
सन् १९७८ मा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सुरु भएको थियो। भारतले सन् २०१३ मा नै तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको थियो।
Shares

प्रतिक्रिया