स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज प्रस्थान गरेकी छिन्।
‘द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो। फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेता छन्। यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ।
भदौ १७ गते देखि १९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुकाबीच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ। सम्मेलनमा उनका २ वटा प्रस्तुतीकरण हुनेछन्।
गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी हुन्। युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रुपमा उनलाई चयन गरेको हो।
यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र छिन्। विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन्।
यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँको सदस्य थिइन्।
Shares

प्रतिक्रिया