समाज


गोदावरीमा युवाका लागि २ दिने डिजिटल मार्केटिङ तालिम

गोदावरीमा युवाका लागि २ दिने डिजिटल मार्केटिङ तालिम

नेपालखबर
असार ६, २०८३ शनिबार १६:४५, काठमाडौँ

ललितपुरको गोदावरीका युवाहरूलाई लक्षित गरी सूचना, सञ्चार तथा डिजिटल मार्केटिङ सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ। 

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा शनिबारदेखि सुरु भएको तालिम आइतबारसम्म चल्ने छ। 

​सूचना, सन्चार, प्रविधि तथा डिजिटल मार्केटिङ ​तालिमको उद्घाटन सत्रमा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले वर्तमान समयमा डिजिटल प्रविधिलाई आत्मसाथ गर्न नसक्नेहरू प्रतिस्पर्धामा पछाडि पर्ने बताए। 

विगतमा सूचनाका लागि सीमित माध्यममा भर पर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिले प्रविधिले संसारलाई साँघुरो र अवसरहरूलाई फराकिलो बनाइदिएको बताए।

युवाहरूलाई फेसबुक, टिकटक वा इन्स्टाग्राम जस्ता प्लेटफर्मलाई समय बिताउने माध्यम मात्र नबनाई आफ्नो व्यवसाय र आर्थिक उन्नतिका लागि उपयोग गर्न उनले आग्रह गरे। 

कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले सन् २००० पछि नेपालमा इन्टरनेटको तीव्र विकास भएको चर्चा गर्दै बदलिँदो प्रविधिसँगै युवाहरूले आफ्नो सीपलाई निरन्तर परिमार्जन गर्नुपर्ने बताए। 

​एआई र आधुनिक सीपमा केन्द्रित प्रशिक्षण ​आइतबारसम्म चल्ने छ। व्यावहारिक तालिममा युवाहरूलाई आधुनिक बजारमा बिक्न सक्ने सीप सिकाइँदै छ। 

कार्यक्रममा प्रदीप राज वन्त, जीवन भण्डारी र योगेन्द्र बहादुर महताले सहभागीहरूलाई ​मोबाइल फोटोग्राफी,  ​सामाजिक सञ्जाल प्रयोग, डिजिटल मार्केटिङ लगायतका विषयमा प्रशिक्षण दिएका छन्। 

​नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले तालिम युवाहरूलाई आधुनिक प्रविधिसँग जोडेर प्रतिस्पर्धी श्रम बजारमा सक्षम बनाउन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। 

बढ्दो बेरोजगारीका बीच यस किसिमका डिजिटल सीपले युवाहरूलाई देशभित्रै स्वरोजगार बन्न र अनलाइन माध्यमबाटै विदेशी बजारसँग जोडिन ठूलो मद्दत पुग्ने उनको भनाई छ। 

तालिममा गोदावरीका युवाहरूको उल्लेख्य सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad