बागमती


रास्वपाको महाधिवेशन तयारी तीव्र, ४० हजारको उपस्थिति रहने आकलन

रास्वपाको महाधिवेशन तयारी तीव्र, ४० हजारको उपस्थिति रहने आकलन

नेपालखबर
असार ५, २०८३ शुक्रबार २१:३०, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा तयारी तीव्र बनाएको छ। असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि १८ वटा उपसमितिले जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेका छन्।

महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्टहाउस चौरमा आयोजना हुने भएको छ। बन्दसत्र उद्योग संघ चितवनको सभाहलमा सञ्चालन गरिनेछ।

उद्घाटनस्थलमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशाल डोम निर्माणको काम सुरु भइसकेको छ। करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीन वटा डोम जोडेर एउटै सभाहल तयार बनाउन लागिएको हो। 

मौसमलाई ध्यानमा राखेर ‘वाटरप्रुफ टेन्साइल फेब्रिक’ प्रयोग गरिएको डोमभित्र एलइडी स्क्रिन, पंखा, कुलर र व्यवस्थित सिट व्यवस्थापन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार देशभरबाट आउने प्रतिनिधिलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने गरी संरचना निर्माण भइरहेको छ।

महाधिवेशनको उद्घाटन समारोहमा करिब ४० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ भने करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन कार्यक्रममा रास्वपाका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि निमन्त्रणा गरिएको छ। 

यसअघि रत्ननगरको टाँडीमा महाधिवेशन गर्ने तयारी भए पनि अन्तिम समयमा कार्यक्रम भरतपुर सारिएको हो।

महाधिवेशनमा सहभागी प्रतिनिधिले आवास खर्च आफैँ व्यहोर्नुपर्ने भए पनि चितवनका होटलहरूले विशेष छुट दिने भएका छन्।

महाधिवेशनमा आउनेलाई आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट उपलब्ध हुने व्यवस्था मिलाइएको रास्वपा भरतपुर महानगरपालिकाकी सभापति सीता ज्ञवालीले बताइन्।

रास्वपाको महाधिवेशन चितवनमा हुँदा चितवनवासी खुसी भएको उनले बताइन्। रास्वपाको उद्मगस्थल चितवन भएकाले सभापति रवी लामिछानेले चितवन छनोट गरेको दाबी गरिन्। 

उनका अनुसार सहभागीहरूका लागि भरतपुर, रत्ननगर र सौराहाका एक सयभन्दा बढी होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। खानेकुरा, बासस्थान र पानीको व्यवस्था मिलाइसकेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad