रेबिज भाइरसबाट कुकुरलाई बचाउने खोप उत्पादन रोकिएको छ। पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले उत्पादन गरिरहेको खोप परीक्षणका लागि भन्दै एक महिनायता रोकिएको हो।
उत्पादन रोकिएसँगै विदेशबाट खोप किन्ने तयारी पनि थालिएको छ।
प्रयोगशालाका प्रमुख डा विनयकुमार कर्णले पाँच वर्षयता खोप परीक्षण नभएकाले त्यसका लागि उत्पादन रोकिएको बताए।
‘एन्टिरेबिज खोप उत्पादन गरेर परीक्षण गर्दै छौँ, यसका लागि हामीलाई ५ महिना समय लाग्छ,’ उनले भने, ‘परीक्षण छिटै सकियो भने पुस महिनादेखि मात्र खोप उत्पादन सुरु हुन्छ। ३ देखि ५ वर्षभित्र खोपको गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधान छ, हामीले ५ वर्ष भइसक्यो खोप परीक्षण गरेका छैनौँ। खोप लगाउन उपयुक्त छ कि छैन भन्ने थाहा नभएका कारण अहिले परीक्षणकै क्रममा छौँ।’
खोपमा प्रयोग हुँदै आएको भाइरस सिड कहाँको हो र त्यो भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने थाहा नभएका कारण परीक्षण गरिएको उनको भनाइ छ।
‘परीक्षण केही वर्षअगाडि नै गर्नुपर्ने थियो, हामी केही ढिला भएका छौँ,’ उनले भने।
खोप उत्पादन भएको ३ देखि ५ वर्षपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ।
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले वार्षिक १ लाख ८० हजार डोज ‘एन्टिरेबिज’ खोप उत्पादन गर्दै आएको छ।
प्रयोगशालाका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा मनिषमान श्रेष्ठ उत्पादन भएको खोप निशुल्क लगाउने र बिक्री समेत गथर्ने गरिएको छ।
‘८० हजार डोज खोप सडकमा छाडिएका कुकुरलाई लगाउने गरेका छौँ, १ लाख खोप बिक्री गर्ने गरिएको छ,’ उनले भने।
प्रयोगशाला प्रमुख कर्ण खोपको आन्तरिक र बाह्य परीक्षणका लागि लामो समय लाग्ने बताउँछन्।
‘खोप बनाइसकेपछि मुसामा परीक्षण गर्छौं, त्यसपछि आन्तरिक परीक्षण हुन्छ, त्यसमा विभिन्न केमिकल परीक्षण गछौँ। त्यसका लागि समय लाग्छ। परीक्षण गरेर त्यसमा प्रयोग भएको साम्रगी ठिक छ भने पछि खोप उत्पादन सुरु गछौँ,’ उनले भने।
पशु सेवा विभागकी सूचना अधिकारी डा इन्दिरा शर्मा खोप उत्पादन रोकिएको समयमा खोप खरिद गर्ने तयारी भएको बताइन्।
‘रेबिज खोप खरिद गर्न विभागले २५ लाख रकम विनियोजन गरेको छ,’ उनले भनिन्, ‘जसबाट २७ हजार डोज खोप खरिद गर्ने तयार हुँदै छ।’
सूचना अधिकारी शर्मा खोप खरिद गरेर २७ हजार कुकुरलाई लगाउने तयारी गरेका गरेको बताइन्।

२५ वर्ष पुरानो मेसिनबाट हुन्छ खोप उत्पादन
सरकारले सन् १९७० देखि ‘एन्टिरेबिज’ खोप उत्पादन गर्दै आएको छ। कुकुरको टोकाइबाट रेबिज रोगको जोखिम बढ्दै गए पछि सरकारले खोप उत्पादन सुरु गरेको थियो।
श्रेष्ठका अनुसार सन् २००० मा ल्याएको मेसिनबाट नै हाल खोप उत्पादन हुँदै आएको छ।
‘२५ वर्ष पुरानो मेसिनबाट खोप उत्पादन हुँदै आएको छ। पुरानो मेसिन भएका कारण धेरै खोप उत्पादन गर्न सकेका छैनौँ,’ उनले भने, ‘म्यानुअल मेसिनबाट खोप उत्पादन गर्दै आएका छौँ, हामीलाई ‘अटोमेसिन’ चाहिएको छ। म्यानुअलबाट गर्दा जनशक्ति पनि धेरै लाग्यो, समय पनि धेरै लाग्यो, जसका कारण आवश्यक पर्ने एन्टिरेबिज खोप उत्पादन गर्न सकिएको छैन।’
खोप उत्पादन बढाउन अत्याधुनिक मेसिन सहित तालिम पनि आवश्यक पर्ने डा श्रेष्ठ बताउँछन्। खोप उत्पादन गर्न सरकारले कुनै तालिमको व्यवस्था गर्न नसकेको उनको भनाइ छ।
‘अन्तर्राष्ट्रिय स्तरमा गएर खोप बनाउने, मेसिन चलाउने तालिम लिन सकियो भने पो आवश्यक मात्रामा खोप उत्पादन गर्न सकिन्छ, त्यसका लागि सरकारी पहल छैन,’ उनी गुनासो गर्दै भन्छन्, ‘तालिम नपाउँदा जनशक्ति भएर पनि खोप उत्पादन गर्न सकेका छैनौँ।’
नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला बनाउन सुरु गरेको थियो। १५ करोड लागतमा सुरु भएको भवन निर्माण सकिएर पनि प्रयोगमा आएको छैन।
डा कर्ण ७ वर्ष लगाएर बनाएको भवन ठेकेदारको बाँकी रकम भुक्तानी नहुँदा प्रयोग गर्न नपाइएको बताउँछन्।
‘गत पुसमा नै निर्माण सम्पन भइसकेको थियो। ठेकेदारलाई ५ करोड रकम भुक्तानी गर्न बाँकी छ। गत आर्थिक वर्ष रकम माग गर्दा पाइएन। चालु आर्थिक वर्षमा बजेट पाउने सूचना पाएका छौँ,’ उनले भने।
भवन हस्तान्तरण भइसकेपछि ३ लाख खोप उत्पादन गर्ने लक्ष्य राखेको कर्ण बताउँछन्।
‘सरकारले सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य अनुसार नयाँ प्रयोगशाला निर्माण भएको हो। भवन प्रयोगमा आएपछि वार्षिक ३ लाख डोज ‘एन्टिरेबिज भ्याक्सिन’ उत्पादन गर्ने लक्ष्य लिएका छौँ।
कसरी उत्पादन हुन्छ रेबिज खोप?
पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा ३६ जना पशु चिकित्सक छन्। चिकित्सकहरुले खोप बनाउने ‘सिड भाइरस’ विदेशबाट आयात गरेर खोप उत्पादन गर्दै आएका छन्।
‘सिड भाइरस त्यो भाइरस हो, जसलाई खोप उत्पादनको सुरुवातमा प्रयोग गरिन्छ। यो भाइरसलाई प्रयोगशालामा सुरक्षित तरिकाले कोसिकामा राखेर धेरै गुणा बढाइन्छ,’ उनले भने, ‘अनि त्यो भाइरसलाई निष्क्रिय पारेर (मारेर) खोप बनाइन्छ, जसले कुकुरको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ।’
‘नेपालमा १० जना मान्छे बराबर एउटा कुकुर रहेको आकलन गरिन्छ। कुकुरको संख्याको आधारमा निकै कम खोप उत्पादन हुने गरेको छ,’ पशु स्वास्थ्य चिकित्सक डा मुकुल उपाध्याय भन्छन्, ‘कुकुरलाई खोप लगाउन सकिए मात्र रेबिज नियन्त्रण गर्न सकिन्छ। खोपले कुकुरको शरीरमा रेबिज भाइरस विरुद्धको एन्टीबडी निर्माण गर्छ, मानिसमा रेबिज सर्न पाउँदैन।’
रेबिज नियन्त्रण गर्न कुकुरले टोकेपछि मानिसलाई खोप लगाएर मात्र नहुने उनको भनाइ छ।
‘सरकारले सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। कुकुरलाई खोप नलगाई यो सम्भव छैन,’ उनी भन्छन्।
फ्रान्सका प्रसिद्ध सूक्ष्म जीवविज्ञानी लुई पास्चरले सन् १८८५ मा रेबिजको खोप पत्ता लगाएका हुन्।
पास्चरले सोही वर्ष पहिलोपटक मानिसमा यो खोप प्रयोग गरेका थिए।
हाल रेबिजको खोप विश्वभर प्रयोग गरिन्छ। खोप रेबिजबाट हुने मृत्युदर रोक्न महत्त्वपूर्ण बनेको छ।
Shares

प्रतिक्रिया