समाज


१७ करोड सहकारी ठगीको मुद्दामा थपियो हुन्डीको ६ अर्ब, ज्योति गुरुङसहित ११ प्रतिवादी

१७ करोड सहकारी ठगीको मुद्दामा थपियो हुन्डीको ६ अर्ब, ज्योति गुरुङसहित ११ प्रतिवादी

मितेरी सहकारीको कार्यालय। इन्सेटमा ज्योति गुरुङ


नेपालखबर
साउन २८, २०८२ बुधबार २०:१५, काठमाडौँ

ललितपुरको महालक्ष्मीथानस्थित मितेरी सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मितेरी सहकारी ठगीमा ११ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको हो। 

यी मध्ये बर्दियाका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवास खत्री मात्रै पक्राउ परेका छन्। ज्योति गुरुङसहित ८ जना फरार रहेको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताए। 

ज्योति कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। सहकारी ठगीमा धनराज गुरुङको पनि संलग्नता रहेको आरोप लागेपनि सीआईबीको अनुसन्धानमा उनको संलग्नता पुष्टि हुन नसकेको दाबी गरिएको छ। धनराजलाई भने यो मुद्दामा प्रतिवादी बनाइएको छैन।

अहिलेसम्म पक्राउ परेका तीन प्रतिवादीले पनि धनराजको संलग्नता रहेको बयानका क्रममा नबताएको र अन्य प्रमाणले पनि नदेखिएको सीआईबीले दाबी गरेको छ। 

मितेरी सहकारी ठगीको कसुरमा पक्राउ परेका तीन जना र फरार ८ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय छ। सहकारीको १४ करोड रुपैयाँ अपचलन भएको सीआईबीको निस्कर्ष छ। 

यस्तै अपचलन भएको रकम फिर्ता गराइदिन्छु भन्दै थप तीन करोड रुपैयाँ ठगी गरेको पनि सीआईबीको प्रतिवेदनमा उल्लेख छ। सहकारी ठगीको अनुसन्धानका क्रममा ६ अर्ब बढी हुन्डीको कारोबार गरेको फेला परेको छ। सीआईबीले हुन्डीको कारोबार गरेको आरोपमा ६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। 

जसमा पक्राउ परेका तीनजना र फरार ज्योति गुरुङसहित छन्। 

यस्तै सुवास खत्री भने क्रिप्टोमा पनि जोडिएका छन्। अनुसन्धानको क्रममा उनको २ हजार १४९ डलर क्रिप्टोमा लगानी गरेको फेला परेको छ। उनलाई भने क्रिप्टोको कसुरमा पनि प्रतिवादी बनाउन सीआईबीको राय छ। 

ज्योति गुरुङसहित ११ जनालाई सहकारीको १७ करोड रुपैयाँ सामुहिक बिगो कायम गरिएको छ। यी मध्ये ६ जनालाई ६ अर्ब हुन्डीको बिगो थप गरिएको छ। हुन्डी गरेर विभिन्न देशमा रकम लगेको फेला परेको छ। सहकारीको रकम पनि यसैगरी कम्बोडिया लगायत देशमा पुर्‍याएको अभियोग उनीहरूलाई छ।

ज्योतिबहादुर भण्डारीलाई पनि कम्बोडियामै पक्राउ गरेर ल्याइएको थियो। पछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको सीआईबीले मुख्य आरोपी ज्योति गुरुङसहितलाई भने पक्राउ गर्न सकेन।

अब जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले प्रतिवेदन अध्ययन गरेर केही दिनमै अदालतमा अभियोग पत्र दायर गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad