कीर्तिपुरको राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासी भेषराज दर्जीको बिहीबार वीर अस्पतारमा मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ।
दर्जी सोमबार साँझ अचानक बेहोस भएका थिए। होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासीले एम्बुलेन्स बोलाउन हारगुहार गरेका थिए। उनीहरूले गुहार गरेको घण्टौँपछि एम्बुलेन्समार्फत उनलाई वीर अस्पताल पर्याइएको थियो।
अस्पताल ल्याइएको तीन दिनपछि बिहीबार दिउँसो साढे २ बजे आईसीयूमै दर्जीको मृत्यु भएको हो। उनी विगत पाँच वर्षदेखि फोक्सोमा पानी जम्ने समस्याबाट पीडित थिए।
गत महिना सरकारले काठमाडौँ नदी किनारका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो। त्यही क्रममा दर्जी बस्दै आएको गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर लागेको थियो। उनलाई परिवारसहित होल्डिङ सेन्टर लगिएको थियो।
गत वैशाख १६ मा होल्डिङ सेन्टरमा नेपालखबरसँग कुराकानी गर्दै उनले आफू भएर पनि सुकुम्बासी बस्ती उठाउँदा परिवारका लागि केही गर्न नसकेको दुखेसो गरेका थिए।
खिङ्ग्रिङ परेको जिउ न पोषिलो खाना पाएका थिए भेषराजले न त धेरै गाह्रो नभइन्जेल उपचार नै पाए। होल्डिङ सेन्टरमा भएका अशक्त र बिरामीलाई छिट्टै नै सहज हुने ठाउँमा लग्ने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रतिक्रिया दिएको थियो। सहज हुने ठाउँमा लग्ने सूचीमा भेषराज पनि पर्थे।
गत वैसाख १६ मा नेपालखबरले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहको सचिवालयले भनेको थियो, ‘ क्रिटिकल केसेजको जो-जो पनि हुनुहुन्छ उहाँहरूको विवरण लिएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको इनिसिएसनमा उहाँहरूलाई सकेसम्म हामी आज नै होटलमा सिफ्ट गर्दै छौँ। ’
प्रधानमन्त्रीको सचिवालय र होल्डिङ सेन्टरमा पुगेका सरकारी कर्मचारीको आश्वासनले भेषराज पनि राम्रो स्थानमा बास पाउने आशमा थिए। त्यसपछि उपचार गर्न सजिलो हुने उनको विश्वास थियो। सरकारले उपचार गरिदिने आश्वासन पनि दिएको थियो।
तर, एक महिनासम्म सरकारले कुनै पहल गरेन। होल्डिङ सेन्टरम उपचारको पर्खाइमा रहेका भेषराजको पनि उपचार गरेन। न अस्पताल लगियो न त सहज हुने बासस्थानमा नै। अन्ततः भेषराजको ज्यान गयो।
पेटको उपचार गर्न काठमाडौँ छिरेका थिए भेषराज
भेषराजको शरीरको देब्रेपाटो चल्दैन्थ्यो। जसले गर्दा उनी ह्विल चियरमा ओहोरदोहोर गर्थे। शरीर बिस्तारै गल्दै गएको थियो।
शारीरिक रुपमा कमजोर भए पनि आफैँ हिँडडुल गर्न सक्थे। होल्डिङ सेन्टरमा आउँदासम्म उनी साहराविना केहि गर्न नसक्ने भइसकेका थिए।
उनले उपचार गर्न छोडेको तीन वर्ष भइसकेको थियो। धेरै पैसा लाग्ने थाहा पाएपछि उपचार गर्न नै छोडेका थिए।
भेषराजको यो समस्या बाल्यकालदेखिको नभइ पाँच वर्षअघि देखिएको हो। एकाएक धेरै पेट दुख्न थालेपछि उपचारका लागि श्रीमती र छोरीसँग झापाबाट काठमाडौँ आएका थिए। त्यसपछि थाहा भयो- उनको फोक्सोमा पानी जमेको रहेछ।
चिकित्सकले फोक्सोमा जमेको पानी समय-समयमा निकालिराख्नुपर्छ भनेका थिए। तर उनको आर्थिक अवस्था फोक्सोमा जमेको पानी निकाल्न सक्ने थिएन।
फोक्सोमा जमेको पानी निकाल्न ५०-६० हजार रुपैयाँ लाग्ने भएपछि उपचार गर्न छोडेको उनले सुनाएका थिए। उपचार नगरिएकाले होला, बिस्तारै उनी कमजोर हुँदै गए।
भेषराज जे भेटिन्थ्यो, त्यही काम गर्थे। आफ्नो परिवारलाई कमाएर ल्याएर खुवाउँथे। ‘कमाउने मै एउटा थिएँ, मै बिरामी भएपछि कसले कमाउँछ?’ गत वैशाखमा भेषराजले भनेका थिए।
उनको परिवार झापाको भुँडीसिमल गाउँको सुकुम्वासी बस्तीमा बस्थ्यो। आमा-बुवा पनि आफ्नो जग्गा-जमिन नभएकाले सुकुम्वासी बस्तीमै बस्ने गर्थे।
पाँच वर्षअघि उपचारका लागि काठमाडौँ आए। त्यसयता गैरीगाउँको सुकुम्वासी बस्तीमा मासिक पाँच हजार भाडा तिरेर विमला र भेषराजले आफ्नो कठिन जीवन बिताइरहेका थिए। उनीहरूको दुई वर्षका छोरा छन्।
श्रीमान् हिँडडुल र काम गर्न नसक्ने भएपछि बाहिर गएर काम गर्नेदेखि घरायसी सबै जिम्मा विमलाकै थाप्लोमा आइसकेको थियो।
मैतिदेवीमा घर-घर गएर काम गर्ने गर्थिन्। जसबाट आएको पैसाले आफू बस्ने ठाउँको भाडा तिर्ने, रासन-पानी ल्याएर तीन जनाको परिवार पाल्ने गर्थिन्।
‘मेरो आफ्नो भन्नु यही एउटी श्रीमती छे। मान्छेको घरको काम गरेर दुई छाक खानका लागि जुटाएकी छ,’ भेषराजले भनेका थिए।
गत वैसाख १२ गते सुकुम्वासी बस्तीमा डोजर चलेपछि भेषराज, विमला र उनीहरूको दुई वर्षको छोरा कीर्तिपुरको राधास्वामी सत्संग आश्रममा ल्याइएका थिए।
त्यसपछि भने उनीहरूको दैनिकी बद्लियो। विमलाले पनि काम गर्न पाइनन्। भेषराज पनि थलिँदै गए। उपचार गर्न पैसा थिएन। सरकारकै भर परेका थिए।
मंगलबार साँझ भने एकाएक भेषराज बेहोस भए। एम्बुलेन्समा वीर अस्पताल त पुर्याइयो तर उनी तीन दिनसम्म होसमा आएनन्। अन्ततः बिहीबार दिउँसो स्वास फेर्न छोडे।
Shares

प्रतिक्रिया